यस वर्ष २८ जेठमा मनसुन भित्रिएपछि भएका विपद्जन्य घटनामा परी देशभर १७० जनाको मृत्यु भएको छ ।
गृहमन्त्री रमेश लेखकका अनुसार सरदरभन्दा बढी वर्षाका कारण यस वर्ष बाढी, पहिरो लगायतका मनसुनजन्य विपद्का घटनामा बढोत्तरी भएको छ ।
यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने जल तथा मौस्म विज्ञान विभागले जनाएको थियो । हालसम्मको तथ्यांकअनुसार नेपालमा सरदरभन्दा ४८.५ प्रतिशत बढी वर्षा भएको छ । यस वर्ष बाढी, पहिरोलगायतका मनसुनजन्य घटना तथा क्षति उल्लेख्य रहेको गृहमन्त्री लेखकले बताए ।
आइतबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री लेखकले दिएको जानकारी अनुसार पछिल्लो दुई महिनामा ५ सय ४६ वटा पहिरोका घटना भएका छन् ।
जसबाट १ सय ९ जनाको मृत्यु भएको छ । पहिरोबाट ३९ जना बेपत्ता र ९६ जना घाइते भएको पनि गृहमन्त्री लेखकले जानकारी दिए ।
गृहमन्त्री लेखकले २१२ वटा बाढीजन्य घटनाबाट ३५ जनाको मृत्यु, ६ जना बेपत्ता र २४ जना घाइते भएको बताए । वर्षाका ३ सय २६ घटनामा १ जनाको मृत्यु र २२ जना घाइते भएका छन् ।
गृहमन्त्रीका अनुसार १२८ चट्याङका घटनाबाट २४ जनाको ज्यान गएको छ भने ५५ जना घाइते भएका छन् । यो अवधिमा ४४ जना बेपत्ता छन् भने १९७ जना घाइते भएका छन् ।
सरकारका अनुसार जेठ २१ मा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २३ औं बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना स्वीकृत गरी कार्यान्वयनमा लगेको थियो ।
दैनिक विपद् बुलेटिन प्रकाशन गरी विपद्को जोखिम र घटनाको जानकारी गराइएको गृहमन्त्री लेखकले बताए । उनले जल तथा मौसम विज्ञान विभागसँगको समन्वयलाई प्रभावकारी बनाई जोखिमका सूचनाहरु निरन्तर आदानप्रदान गरिएको जानकारी दिए।
उनले चीनको सहयोगमा करिब ५ करोड रुपैयाँ बराबरको उद्धार तथा राहत सामग्री प्राप्त गरी देशका विभिन्न गोदामहरुमा भण्डारण गरिएको बताए । थप १७ करोड रुपैयाँ बराबरको उद्धार तथा राहत सामग्री प्राप्तिको प्रक्रियामा रहेको उनले जानकारी दिए ।
कास्की, स्याङ्जा, ताप्लेजुङ, काठमाडौं लगायतका जिल्लाहरुमा पहिरोको जोखिमबारे अध्ययन गरिएको गृहमन्त्री लेखकले बताए ।