सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका छन । आज नै सपथ लिए लगत्तै पदभार ग्रहण गरेका हुन । सो अबसरमा बोल्दै उनले बजेट शून्यताको अवस्था चाँडै अन्त्य गर्ने बताए।
‘गठनको प्रक्रियालाई हेरेपछि यो सरकार तीव्रताका साथ काम गर्छ भन्ने सन्देश गएको छ । विगतमा मन्त्री को हुन्छ ? भन्ने बारेमा टाउको दुखाउनुपर्ने हुन्थ्यो,’ शाहले भने, ‘तर योपटक सबै मन्त्रीज्यूलाई एकैपटक शपथग्रहण गराएका छौं । हामी सचिवज्यूहरूसँग बसेर राजस्व र दैनिक खर्चको निकास एक/दुई दिनमै दिन्छौं ।’
शाहले राजस्व र दैनिक खर्चको विषय व्यवस्थापन भइसकेपछि प्रदेश सभाको बैठक बोलाएर पूर्ण बजेट निर्माणको प्रक्रियालाई अघि बढाइने बताएका छन् ।
पदभार ग्रहण गरेपछि शाहले वित्तीय अनुशासन, सुशासन प्रवर्द्धन, भ्रष्टाचार न्यूनीकरणका विषयमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न मुख्यमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा समिति गठन गरेका छन् ।
यस्तै प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क ब्लड बैंक सञ्चालन र व्यवस्थापनका विषयमा अध्ययन गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन, प्राकृतिक विपदबाट हुने मानवीय क्षति सम्बोधन गर्न विपद् जोखिम न्यूनीकरण बिमा सञ्चालन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन पनि दिएका छन् ।
दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका शाहले ६ जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गर्दै सोमबार नै मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।