सुदुरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै छ । शुक्रवार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका थिए ।
केन्द्रमा कांग्रेस एमालेको समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने यस अधि नै सहमति भैसकेको छ ।
सोही अनुसार आज काँग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्ने छ । उक्त दामीमा एमालेले पनि समर्थन गर्ने छ ।
सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन् ।
यी दुई दल मात्रै मिल्दा पनि बहुमत पुग्छ । यद्यपि नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा जाने संभावना रहेको छ ।
मुख्यमन्त्रीमा काङ्ग्रेसबाट तीन जनाको दाबी रहे पनि संसदीय दलका नेता कमल बहादुर शाह नै मुख्यमन्त्री बन्ने सम्भावना बढी छ ।
अरू दुई आकाङ्क्षी प्रकाश देउवा र बहादुर सिंह थापा पनि शाहलाई मुख्यमन्त्री बनाउन सहमत भइसकेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई मुख्यमन्त्री बनाउने गरी तयारी अगाडी बढाउन निर्देशन दिइसकेका छन्।
नेपाली कांग्रेस र एमालेले मन्त्रीहरु को नाम टुंगो लाउन आज नै आ- आफ्नो दलको बैठक आह्वान गरेका छन् ।