कैलालीको गोदावरी नगरपालिकाले कृषि तथा पशु जन्य बस्तु को निकासी कर पहिलो पटक ठूलो रकममा ठेक्का लगाएको छ । सोनी कन्स्ट्रक्सनलेले १० लाखमा ठेक्का पाएको हो । नगरपालिकाले ठेक्का को न्युनतम अंक २ लाख तोकेको थियो । दुई पटक ठेक्का आह्वान नगरपालिकाले गरेको थियो ।
दुई पटकमा १० वटा आबेदन परेको नगरपालिका स्रोतले जनाएको छ । सोनी कन्स्ट्रक्सनले बढी रकम हालेपछि ठेक्का पाएको हो । आर्थिक ऎन अनुसार नै नगरपालिकाले ठेक्का दिएको हो । जस अनुसार ठेक्का पाएको कम्पनीले माछा , राँगा भैंसी, तरकारी तथा फलफुल , खसी भेडा बाख्रा , सुँगुर , कुखुरा आदि निकासीमा कर लिने छ । तर नगरपालिकाले हचुवा को भरमा यो ऎन बनाएको पाइएको छ । जसको मारमा किसान पर्ने देखिन्छ ।
नगरपालिकाका स्रोतले भन्यो, ' यो ऎनमा अलि बृहत् छलफल गर्नुपर्ने थियो । अब ऎन बनिसकेको छ, अनि पारित पनि भैसकेको छ र ठेक्कामा पनि लागिसकेको छ । अब राजस्व परामर्श समितिले मात्रै घटाउन सक्छ । यो ऎन अरु पालिकाको कपि गरेको जस्तो छ ।'
यो अनुसार कुखुरा ब्यबसयी मारमा पर्ने भएका छन् । प्रती गोटा कुखुरा निकासी गरे बाफत भ्याट बाहेक १० रुपैयाँ ब्यबसायी तिर्नुपर्ने छ । यस्तै माछामा प्रती किलो रु १० कर लाग्ने छ । राँगा भैसीमा प्रती गोटा रु ३०० , तरकारी तथा फलफूल जन्य बस्तुमा प्रती क्विन्टल रु १५, खसी ,भेडा, बाख्रा , सुँगुर प्रती गोटा रु १५ कर लाग्ने छ । कुखुरा ब्यबसायी मनिराम नौन्यालले नगरपालिकाले करको नाममा किसानलाई मारमा पार्न खोजेको आरोप लगाए ।
'यो गैरजिम्मवार निर्णय हो । सरकारले किसानलाई उत्पादनमा प्रोत्साहन गर्नुको साटो अनावश्यक कर लगाएर किसान र उपभोक्तालाई मारमा पार्न खोजेको देखियो । अब दुई नम्बरी गर्नेलाई फाईदा हुन्छ । कुखुरामा त झन १० रुपैया भनेको छ अब यो कसले तिर्न सक्छ । अहिले उसो त ब्यबसायी मारमा छन् , किसान को उत्पादन उठाउन सक्ने अबस्थामा छैनन् त्यसैमा यत्रो कर लगाएर हुन्छ । यो निर्णय नगरपालिकाले पुनः बिचार गर्नुपर्छ ।'