नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दलहरू नेपाली कांग्रेस र एमाले मिलेर जनताले प्राप्त उपलब्धी र अधिकार खोस्न लागेको बताएका छन्।
शनिबार पुष्पलाल अध्ययन केन्द्रले काठमाडौंमा गरेको कार्यक्रम दुई ठूला दलले मिल्नु सामान्यतः स्वभाविक नमानिने बताउँदै प्रचण्डले देशलाई दुई दलीय व्यवस्था र संविधान संसोधनको उद्धेश्य लिएर कांग्रेस र एमाले मिलेको बताएका हुन्।
उनले जनताको लामो आन्दोलन र ठूलो बलिदानीपछि प्राप्त अधिकार खोस्ने प्रयत्नलाई सफल हुन नदिने पनि बताए।
‘हामी कुनैपनि हालतमा त्यसो हुन दिँदैनौं। फेरि जरूरी पर्यो भने सडकमा पलेटी कसेर र जनताको साथमा बसेर भएपनि दुष्प्रयासलाई सफल हुन दिन्नौं,’ उनले भने।
यद्यपि संविधान संसोधन गर्नुपर्ने पक्षमा आफू पनि रहेको अध्यक्ष प्रचण्डले बताए।
संविधान संसोधन गर्नुपर्छ भन्नेमा छौं हामी। संविधानसभामा महिला तथा उत्पीडित समुदायको अधिकार अझै पुगेको छैन त्यसकारण त्यसलाई अझ बढोत्तरी गर्नुपर्छ भनेर रिजर्भेसन राख्ने भिन्न मत राख्ने, नोट अफ डिसेन्ट राख्ने पार्टीको हुनुको नाताले हामी संविधान संसोधनको पक्षमा छौं तर हाम्रो विरोध संविधान संसोधनको नाममा प्रतिगमनतिर नेपाली जनताले निकै ठूलो त्याग र बलिदान दिएर प्राप्त गरेको अधिकार खोस्ने जो दुस्साहस हुँदैछ, हाम्रो त्यहाँ विरोध हो,’ उनले भने।
उनले अहिले सरकारमा भएका दुई दलले गर्न खोजेको संसोधन जनताले प्राप्त गरेका अधिकारलाई पनि खोस्न खोज्ने र देशलाई फेरि पहिलेकै जस्तो निरंकुशतातर्फ लैजाने प्रयास रहेको उनले बताए।
‘थ्रेसहोल्ड ल्याएर साना पार्टीहरूलाई सबै निस्तेज पार्ने र तथाकतथि दुई पार्टी सिस्टम जो पश्चिमा देशहरूमा चल्ने गरेको छ त्यसमा नेपाललाई जबरजस्ती लैजान खोज्ने र त्यहिमार्फत अधिनायकवादतिर देश लाने कोशिस भएकाले हामीले विरोध गरेका हौं,’ अध्यक्ष प्रचण्डले भने।