राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले उपसभामुख इन्दिरा राना मगरले अमेरिकाको भिसाका लागि दूतावासलाई लेखेको पत्रका बारेमा प्रतिक्रिया दिएका छन् ।
तत्कालीन समयमा आफू महामन्त्री रहेको र त्यसैबेला जानकारीमा पाएर यो विषयको सोधखोज गर्दा आर्थिक लेनदेन भएको पाएको उनले उल्लेख गरेका छन् ।
मंगलबार यस विषयमा लामो फेसबुक स्टाटस लेख्दै ढकालले उपसभामुख रानले यो प्रकरणमा पदबाट राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।
यसअघि राना र रास्वपाले यो प्रकरणमा आर्थिक लेनदेन भएको नपाइएको दाबी गरेका थिए । तर, ढकालले भने लाखौँको लेनदेन भएको आफूले पाएको दाबी गरेका छन् । र यसको प्रमाण पीडितसँग भएको पनि ढकालको भनाइ छ ।
'९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन्,' ढकालले फेसबुकमा लेखेका छन्, 'पीडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ ।'
आफूले सोधखोज गरेपछि पीडितले रकम फिर्ता पाएको पनि ढकालको दाबी छ । 'उपसभामुखलाई सोधखोजपछि पनि म पीडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ तर सम्पर्कमा आएको पीडितले ती पालिका सभापतिलाई "तपाईंले कुरा कता कता पुर्याउनुभयो, मेरो पैसा फिर्ता आयो" बताइन्,' उनले लेखेका छन् ।
ढकालले यो प्रकरणको अनुसन्धानका लागि उपसभामुखले पदबाट राजीनामा दिनुपर्ने पनि बताएका छन् । उपसभामुख रानाको विगत राम्रो भए पनि त्यसैका आधारमा यस्तो विषयमा अनुसन्धानका लागि तयार हुनु नपर्ने कारण पनि नभएको बताएका छन् ।
'उपसभामुख इन्दिरा आमाको विगतको छवि सबै नेपालीले शिर निहुराएर नमन गर्नै पर्छ,' ढकालले लेखेका छन्, 'विगतको छवि उच्च रहे पनि छानबिनका लागि तयार हुन नपर्ने केही कारण नै छैन । उपसभामुखले तत्काल पदबाट राजीनामा दिइ आफूमाथि छानबिनका लागि स्वंय तयार हुनपर्छ ।'