कैलालीको ईलाका प्रहरी कार्यालय मालाखेतीमा लागुऔषध र बैकिङ कसुरका मुद्धाहरु बढ्दै गएका छन् । ईप्रका मालाखेतीको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०८०\०८१ मा बिभिन्न घटना तथा अपराधका ३ सय ८० मुद्धा दर्ता भएका छन् । त्यसमध्ये २ सय ६० मुद्धा फर्छौट भएका छन् भने १ सय २० मुद्धा बाँकी रहेका छन् । ३ सय ८४ जना विरुद्ध मुद्दा चलाइएको इप्रका मालाखेतीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले बताए ।
आर्थिक वर्ष २०७८\०७९ मा ३ सय ५३ मुद्दा दर्ता भएकामा ३ सय ५१ मुद्धा फर्छौट भएका छन भने २ ओटा बाँकी रहेका छन् । यस्तै आर्थिक बर्ष २०७९\०८० मा ३ सय ५० मुद्दा दर्ता भएकामा २ सय ६५ मुद्धा फर्छौट भएका छन भने ८५ मुद्धा बाँकी रहेका प्रहरी नायब उपरीक्षक थापाले बताए ।
लागुऔषध र बैकिङ कसुरका मुद्धाहरु बढ्दै
दर्ता भएका मुद्धाहरुमध्ये लागुऔषध र बैकिङ कसुरका मुद्धाहरु बढ्दै गएका छन् । आर्थिक वर्ष २०७८\०७९ मा लागुऔषधका ३१ मुद्दा दर्ता भएकामा २०७९\०८० मा ५४ मुद्दा दर्ता भएका छन् भने २०८०\०८१ मा लागुऔषधका मुद्धाको संख्या बढेर ६६ पुगेको छ ।
इप्रका मालाखेतीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले आर्थिक बर्ष २०८०\०८१ मा लागुऔषधका ६६ मुद्दा दर्ता हुँदा ९८ जना पक्राउ गरेको बताए । उनले एक वर्षको अवधिमा पक्राउ परेकाहरुबाट ७३ ग्राम ६०३ मिलिग्राम हिरोइन र १३ किलो ३८० ग्राम ६७ मिलिग्राम बरामद भएको बताएका छन् । प्रहरी नायब उपरीक्षक थापा प्रमुख भएर ईप्रकामा आएदेखि तीन महिना अषाढ मसान्त सम्ममा मात्रै लागुऔषधका २४ मुद्दा दर्ता हुँदा ३३ जना पक्राउ गरेको बताए । उनले पक्राउ परेकाहरुबाट तीन महिनाको अवधिमा हेरोईन १६ ग्राम २४० मिलिग्राम र चरेश २२३ ग्राम र ४२७ मिलिग्राम बरामद गरेको बताएका छन् ।
प्रहरी नायब उपरीक्षक थापाले पछिल्लो समयमा बढीजसो युवा पुस्ता लागुऔषधमा फसिरहेको बताएका छन् । १९ वर्षदेखि लिएर ३० वर्षसम्मका युवायुवती लागुऔषध सेवन तथा कारोबारमा संलग्न रहेका पाइएको उनले बताए । लागुऔषधले हानी पु–याउने कुरामा ज्ञान नहुनु, साथीहरुको लहलहैमा लाग्नु, आफै सचेत बन्न नसक्नु जस्ता कारणले युवापुस्ता लागुऔषधको जालोमा फस्दै गइरहेको उनी बताउँछन् । यसबाट बच्न स्वयम् जागरुक हुनुेपर्ने उनको भनाई छ ।
यस्तै बैकिङ कसुरमा आर्थिक बर्ष २०७८\०७९ मा शुन्य रहेकोमा २०७९\०८० मा ३० मुद्दा दर्ता भएका छन् भने २०८०\०८१ मा दोब्बरले यो संख्या बढेर ६१ पुगेको छ । इप्रका मालाखेतीका प्रहरी नायब उपरीक्षक थापाका अनुसार पछिल्लो समयमा बैकिङ कसुरका मुद्धाहरु पनि बढ्दै गएका छन् ।
विभिन्न घटना तथा अपराधका मुद्धा दर्ता
इलाका प्रहरी कार्यालय मालाखेती,अत्तरियामा एक वर्षको अवधिमा विभिन्न अपराधका ३ सय ८० घटना तथा अपराधका मुद्धा दर्ता भएका छन्। सो अवधिसम्म सबैभन्दा बढी सार्वजनिक हितविरुद्ध ८४, लागुऔषध ६६, बैंकिङ कसुर ६१, देहत्याग ४५ र आत्महत्या दुरुत्साहनका ४ वटा उजुरी दर्ता भएको ईप्रका मालाखेतीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले बताएका छन् ।
यस्तै भवितव्य ज्यान २६, फुटकर ज्यान ८, कर्तव्य ज्यान एक, ज्यान मार्ने उद्योग २, चोरी सम्वन्धि १०, जुवा तीन, ठगी ४, जबरजस्ती करणी १६, जबरजस्ती करणी उद्योग ७, सवारी ज्यान ११ र बहुविवाहका ५ वटा उजुरी दर्ता भएको डीएसपी थापाले बताएका हुन् । उनले भन्सार छलीका सामानसहित पाँच जनालाई समेत पक्राउ गरिएको बताए ।
साथै ४ स ४६ दशमलव १७ क्युफिट अबैध काठसहित ८ जनालाई नियन्त्रणमा लिनुका साथै अबैध नदीजन्य पदार्थ उत्खनन्मा प्रयोग भएका १५ ट्याक्टर, ७ वटा जेसीभी, एउटा टिप्पर, ४ वटा रोल गरी २७ वटा सवारीसाधन नियन्त्रणमा लिएर त्यसबाट ७ लाख १२ हजार गोदावरी नगरपालिकाले राजस्व असुली गरेको डीएसपी थापाले बताए ।
यस्तै प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न ३० महिला, २८ पुरुष र एक जना तेस्रो लिङ्गी गरेर ५९ जनालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको ईप्रका मालाखेतीका प्रहरी नायव उपरीक्षक थापाले बताए ।