कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ बेलडाँडीका तेजबहादुर चौधरीले व्यावसायिक पशुपालनबाट वार्षिक रु. सात लाख आम्दानी गर्दै आएका छन्। उनले चार वर्षदेखि बाख्रा, बंगुर फार्मसँगै माछापालन गर्दै आएका छन्।
घरनजिकैको सिद्धनाथ माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत चौधरी फुर्सदमा फार्ममा रहेका बाख्रा, बंगुर र माछाको हेरचाह गर्छन्। बिहानबेलुका फार्ममा रहेका पशुको हेरचाह गर्ने, दानापानीको व्यवस्था मिलाउने तथा ती पशु बेच्नेलगायत काममा व्यस्त हुने गरेको चौधरीले बताए। उनका अनुसार अहिले फार्ममा ३० वटा उन्नत जातका बाख्रा, २० वटा बंगुर, दुईवटा पोखरीमा विभिन्न जातका माछा छन्।
पोखरीको डिलमा लहरै बंगुरका खोर निर्माण गरिएका छन्। चौधरी विद्यालयमा रहेका वेला उनकी श्रीमतीले फार्ममा पालेका बंगुर, बाख्रा र माछालाई चारो खुवाउने गर्छिन्।
चौधरीले बैंकबाट रु. पाँच लाख ऋण निकालेर चार वर्ष अघिदेखि फार्म सञ्चालन गर्दै आएको बताए। सबै खर्च कटाएर वार्षिक रु. सात लाखसम्म नाफा गर्दै आएको उनले जानकारी दिए। बंगुरको माउभन्द पाठा बढी बिक्री हुने गरेको उनले सुनाए।
‘वर्षमा १० वटाजति खसी बिक्री हुन्छन्,’ चौधरीले भने, ‘माछा सात क्विन्टल, बंगुरका पाठा ६० वटाजति बिक्री हुने गरेका छन्।’ फार्ममा छिट्टै हुर्कने ड्युरो जातका बंगुर पालेको उनले बताए। ‘बंगुरका पाठापाठीको माग निकै बढी छ,’ उनले भने, ‘मागअनुसार पु¥याउनै सकिरहेका छैनौँ, टाढाटाढाका व्यापारी घरमै पुगेर नगदमा किनेर लैजाने गर्छन्।’
बंगुरका एक वर्षका पाठापाठी रु. चार हजार पाँच सयसम्ममा बिक्री हुने चौधरीले जानकारी दिए। ‘पोखरीमा उत्पादन भएका माछा केही गाउँमै खपत हुने गरेका छन्। कहिलेकाहीँ कलुवापुर, झलारीलगायत बजारमा पु¥याउनुपर्छ,’ उनले भने, ‘खसीबोकाको माग दसैँं–तिहारलगायत चाडपर्वमा बढी हुन्छ। व्यापारीले घरबाटै खरिद गरी लैजान्छन्।’
कोरोना महामारीका वेला फार्ममा पालिएका बंगुर, खसी–बोका बिक्री नभएपछि निकै सस्तोमा बिक्री गर्नुपरेको गुनासो सुनाउँदै चौधरीले अहिले बिस्तारै व्यवसाय तंग्रिँदै जान थालेकाले आम्दानी बढ्न थालेको बताए। फार्मको कमाइबाट खेत जोत्ने पावरटिलर, सिँचाइका लागि स्यालो ट्युवेल जडान गरेको जनाउँदै उनले तीनकोठे पक्की घर पनि बनाएको बताए।
‘विद्यालयबाट पाउने तलबबापतको पैसा घर खर्चमा पुग्दैन,’ चौधरीले भने, ‘फार्म सञ्चालन गरेसँगै जीविकोपार्जन गर्न सहज भएको छ।’ आगामी दिनमा फार्मलाई थप व्यवस्थित बनाई केही कामदारसमेत राख्ने योजना बनाएको उनले सुनाए।
रासस