अत्तरिया - कैलाली गोदावरी नगपालिका वडा नं १ मा पर्ने खैराना खोलामा पुल नबन्दा स्थानियहरु बर्षादेखी ज्यान जोखिममा राखेर आवतजावत गर्दै आइरहेका छन् । वडा नं १ को बसन्तपुर देखी चैतन्यपुर सम्म जोड्ने खैराना खोलामा पुल नबन्दा स्थानियलाइ आवत जावतमा निकै कठिनाई हुने गरेको छ ।
खोलामा पुल निर्माणका लागि स्थानियहरुले पटक पटक माग गरेपनि अहिले सम्म पुल बन्न सकेको छैन् । गोदावरी नगरपालिकाको सुगम वडाका रुपमा रहेको वडा नं १ को चैतन्यपुरका स्थानियलाई अत्तरिया , धनगढी लगाएतका बजार क्षेत्रमा आवत जावत निकै समय लाग्ने गरेको छ । उनिहरु मध्ये कतिपय जंगलको घुमाउरो बाटो र कतिपय खोलाकै बिच बाटोवाट आवत जावत गर्ने गर्दछन् । 
गोदावरी नगरपालिकाले चालु आर्थिक बर्षमा उक्त ठाउमा झोलुङ्गे पुल निर्माणका लागि गत असारमा शिलन्यास गरी काम सुरु भएको थियो । यद्धपी बिभिन्न कारणहरु देखाउदै निर्माण सुरु भएको ३ महिना पछि उक्त झोलुङ्गे पुल निर्माणको काम बन्द भयो । स्थानियहरुको सहभागीतामा पुल निर्माण उपभोक्ता समिती गठन गर्दै ठेकेदारलाई जिम्मा दिएर काम सुरु गरिएको भएपनि बिचमा डिजाइन स्टमेटमा फरक भएकाले काम रोकिएको बताइएको छ ।
बुधवार पुल निर्माण उपभोक्ता समितीका पदाधिकारी , वडा नं १ का वडाअध्यक्ष शर्मानन्द भट्ट , प्राबिधिक र स्थानियहरुको छलफलमा अब पुल निर्माणको कामलाई तिब्रता दिएर यसै आर्थिक बर्ष भित्र सम्पन्न गरिने निर्णय गरिएको छ । निर्माण सुरु भएर ६ महिनादेखी ठप्प पुल असार मसान्त भित्र सम्पन्न गरिसक्ने गरि कामको सुरुवात गरिएको पुल निर्माण उपभोक्ता समितीका अध्यक्ष डण्डीराज भट्टले जानकारी दिए । उनले आफुहरुलाई समितीमा बसाए पनि सबै काम ठेकेदार मार्फत गरिदा बिचमा समस्या आएकाले अब ठेकेदार कम्पनीलाई रद्ध गर्दै उपभोक्ता समिती मार्फत नै काम अगाडी बढाउने निर्णय भएको बताए ।
खोलामा पुल नहुदा बर्षौ देखी आवतजावतमा कठिनाई भोगिरहेका बसन्तपुर र चैतन्यपुरका स्थानियहरु पुल निर्माणको काम सुरु भएपछि निकै खुसी भएका छन् । चैतन्यपुरका स्थानिय दयाराम चौधरीले पुल निर्माणको काम सुरु भएपनि पुन पहिलेको जसरी बन्द भएमा आफ्ना समस्या ज्यू का त्यु रहने बताए । ढिलै भएपनि पुल निर्माणको कम सुरु भएकोमा खुसी ब्यक्त गर्दै स्थानिय मनिषा चौधरीले अब पुल निर्माणमा कुनै आलटाल नगरि तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने माग गरे । ‘पुल नहुँदा गाउँमा धेरै कुराको अभाव रहेका छ ’ उनले भनिन् – ‘ पुल नहुदा हामी त पाहाडको कुन गाउको हो, कुन गाउको हो भन्ने जस्तो भा छ अब समयमै पुल बनेमा हाम्रो टाढाको सम्बन्ध नजिक हुन्छ । ’

कुल ९० लाखको लागतमा निर्माण हुन लागेको पुलको लम्बाई करिब ४०० मिटर रहेको छ । झोलुङ्गे पुल निर्माण भएमा गोदावरी नगरपालिकाको वडा नं १ को बसन्तपुर , चैतन्यपुरका साथै वडा नं ६ का सयौ स्थानियहरु प्रत्यक्ष लाभान्वित हुने वडा नं १ का वडाअध्यक्ष शर्मानन्द भट्टले बताए । अब तोकिएकै समयमा सम्पन्न हुन्छ ’ उनले भने – ‘ बिचमा केहि प्राबिधिक गडबडी र डिजाइन स्टमेटमा समस्या आएकाले ठप्प भएको होे , अहिले उपभोक्ता समिती मार्फत पुल निर्माणको कामलाई अगाडी बढाएर २०७६ साल असार मसान्तमा सम्पन्न गर्ने गरि सम्झौता भएको छ । ’
पुल निर्माण पछि स्थानीयहरुलाई शिक्षा, स्वास्थ्य, रोजगार, यातायात र व्यापारमा सहज हुने उनको भनाई छ ।