टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल शनिबार दुई अपराजित टिमबिच हुने भएको छ ।
भारतले बिहीबार राति दोस्रो सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई ६८ रनले सजिलै हराएर फाइनलमा स्थान बनायो । यस नतिजासँगै इङ्ग्ल्यान्डको उपाधि रक्षा अभियान समाप्त भयो ।भारत ११ वर्षपछि र दक्षिण अफ्रिका पहिलो पटक विश्वकप जित्ने दाउमा छन् ।
भारत टी–२० विश्वकपको पहिलो संस्करणको विजेता पनि हो । यसै गरी भारत तेस्रो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो ।
बारबाडोसस्थित ब्रिजटाउनमा हुने फाइनलमा भारत केही बलियो देखिन्छ
पाकिस्तानविरुद्धको खेललाई छोड्ने हो भने भारतले सबै खेल सहजै जितेको छ ।
रोहित शर्माको प्रेरणादायी नेतृत्वमा रहेको भारत बलिङ र ब्याटिङ दुवै पक्षमा उत्तिकै असरदार देखिएको छ । यद्यपि दक्षिण अफ्रिकाको ब्याटिङ फाइनलसम्म पुग्दा पनि भरोसालायक बनेको छैन ।
दक्षिण अफ्रिकाले सबै जसो खेल बलिङकै कारण आफ्नो पक्षमा पारेको भन्दा फरक पर्दैन ।
यद्यपि दक्षिण अफ्रिकाले समूह चरण र सुपर आठका प्रायः सबैखेलमा अन्तिम समयसम्म हार नमान्ने गजबको खुबी देखाएको छ ।
दक्षिण अफ्रिकाले सेमिफाइनलमा भने अफगानिस्तानलाई सजिलै हराएको थियो ।
यसअघि एकदिवसीय र टी–२० विश्वकपमा गरी सात पटक सेमिफाइनलमा पुगेर पनि दक्षिण अफ्रिका उपाधि भिडन्तसम्म पुग्न सकेको थिएन ।