राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको एसईई परीक्षामा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशका विद्यार्थी फेल (ननग्रेडिङ) भएका छन् ।
सुदूरपश्चिमबाट ५३ हजार ४ सय ४६ विद्यार्थीले एसईई दिएकोमा ३६ हजार ४ सय १० अर्थात् ६८ दशमलव १२ प्रतिशत ननग्रेडिङ भएका हुन् । तीमध्ये १६ हजार ३७२ छात्र र २० हजार ३८ छात्रा छन् । सुदूरका ७९० विद्यार्थीले उत्कृष्ट नतिजा ३.६० देखि ४ जीपीए ल्याएका छन् ।
सुदूरपछि धेरै विद्यार्थी असफल हुने प्रदेशमा लुम्बिनी परेको छ । लुम्बिनीका ८० हजार ३२७ विद्यार्थीले परीक्षा दिएकोमा ६१.२७ प्रतिशत अर्थात् ४९ हजार २२४ ननग्रेडिङ भए । तीमध्ये २३ हजार १३५ छात्र र २६ हजार ८४ छात्रा छन् । त्यस्तै, लुम्बिनीमा ३ हजार २ सय ९० विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् ।
सुदूर र लुम्बिनीपछि कर्णालीबाट धेरै विद्यार्थी ननग्रेडिङ भएका छन् । कर्णालीका ३५ हजार ३४ विद्यार्थीले एसईई दिएकोमा २० हजार ३ सय ८० अर्थात् ५८.१७ प्रतिशत ननग्रेडिङ भए । तीमध्ये ९ हजार ६४५ छात्र र १० हजार ७३४ छात्रा छन् । कर्णालीबाट सबैभन्दा कम विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् । त्यहाँका ४४१ विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका हुन् ।
बागमती प्रदेशको समग्र नतिजा अरु प्रदेशको तुलनामा राम्रो देखिएको छ । ९९ हजार ८७२ विद्यार्थीले एसईई दिएकोमा ३३ हजार ८४३ अर्थात्, ३३ दशमलव ८८ प्रतिशत ननग्रेडिङ भएका छन् । तीमध्ये १६ हजार १४६ छात्र र १७ हजार ६९७ छात्रा छन् ।
उत्कृष्ट जीपीए (३.६० देखि ४) ल्याउनेमा पनि बागमती सबैभन्दा अगाडि छ । यो प्रदेशका १५ हजार ७ सय ६६ विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् ।
पूर्वी नेपालका कोशी र मधेश प्रदेशको ननग्रेडिङ स्थिति राष्ट्रिय नतिजाआसपास नै देखिएको छ । कोशी प्रदेशमा ५२.५० प्रतिशत ननग्रेडिङ भएका छन् । ७५ हजार ९८८ परीक्षार्थीमध्ये ३९ हजार ८९५ एनजी भएका छन् । तीमध्ये छात्रा २० हजार ६१३ र छात्र १९ हजार २८२ छन् ।
मधेशबाट ७९ हजार ५९२ विद्यार्थीले एसईई दिएकोमा ५३.१२ प्रतिशत अर्थात् ४२ हजार २८६ विद्यार्थी ननग्रेडिङ भए । तीमध्ये २२ हजार ७४७ छात्रा र १९ हजार ५३७ छात्र छन् । मधेशमा ३ हजार ९५७ विद्यार्थीले ३.६० देखि ४ जीपीएको उत्कृष्ट नतिजा ल्याएका छन् ।