केही महिनाअघि संसदीय दलको नेताबाट हटाइएका माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सभा सदस्य खगराज भट्ट पुनः दलको नेता बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उनी पुनः प्रदेश संसदीय दलको नेता बन्ने पक्का भएको हो ।
गत माघको दोस्रो साता संसदीय दलको बहुमतले नेताबाट हटाइएका भट्टलाई गत फागुनमा प्रदेश इन्चार्जबाट समेत विदा दिइएको थियो ।गत माघ दोस्रो साता प्रदेश संसदीय दलको बहुमतबाट भट्टलाई हटाएर दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य मान बहादुर धामीलाई दलको नेता चयन गरेको थियो ।
मंगलबार माओवादी केन्द्र अध्यक्ष प्रचण्डले माओवादीका सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूसंग काठमाडौं गरेको बैठकमा भट्टलाई दल नेतामा पुनःस्थापित गर्न निर्देशन दिएको प्रदेश सभा सदस्य रमेशसिंह धामीले जानकारी दिए । “अध्यक्षको निर्देशन आएको छ, अब उहाँ (खगराज) नै संसदीय दलको नेता बन्नुहुन्छ” पर्वमन्त्री समेत रहेका प्रदेश सांसद रमेशसिंहले हाम्रो मूलबाटोसँग भने– 'विगतमा के भए भन्ने कुराको अब कुनै अर्थ छैन ।'
अध्यक्ष प्रचण्डले हाल प्रदेश सरकारमा सहभागी भएका माओवादी केन्द्रका तीनै जना मन्त्रीलाई यथावत राख्न पनि निर्देशन दिएको उनले बताए । एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारमा हाल माओवादी केन्द्रबाट अक्कलबहादुर रावल, ओम बिक्रम भाट र लक्ष्मी विक विनाविभागीय मन्त्री रहेका छन् ।
माओवादी केन्द्रबाट रावल, भाट र विक मन्त्री नियुक्त भएपछि प्रदेश सभा सदस्य भट्ट तथा पूर्वमन्त्री झपट बहादुर साउद र रमेशसिंह, शिवसिंह ओली र जानकी कुँवर पौडेलले विरोध गर्दै मुख्यमन्त्रीलाई लिखित पत्र नै बुझाएका थिए ।
उता संसदीय दलका नेता मानबहादुर धामीले प्रक्रियाबाट आफुलाई हटाएर नेता बन्न नेता खगराज भट्टलाई चुनौती दिएका छन् ।
भट्टलाई दल नेता बनाउन प्रचण्डको निर्देशन दिएको समाचार बाहिरीएपछि संसदीय दलका नेता मानबहादुर धामीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘ समाचार मात्र लेखाउनु भन्दा प्रकृयामा गएर फेस गरेकसो होला,कुरि कुरि’।