आइसिसी टी-२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ।
समूह चरणको अन्तिम खेलमा जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ बलमा अल आउट हुँदा ८५ रन मात्रै बनाउन सक्यो।
नेपालका लागि कुशल मल्लले बनाएको २७ रन सर्वाधिक रह्यो। उनले ४० बलमा १ चौका र १ छक्का हाने।
दिपेन्द्रसिंह ऐरीले ३१ बलमा २ चौका र १ छक्का प्रहार गरी २५ रनको योगदान गरे।नेपालका अनील साह, गुल्सन झा र सोमपाल कामी शून्यमा आउट भए।
कुशल भूर्तेल ४ रन, आशिफ शेख १७ रन, रोहित पौडेल र सन्दीप जोरा १/१ रन बनाएर आउट भए।
बंगलादेशका लागि तान्जिम हसन शाकिबले सर्वाधिक ४ विकेट लिए। मुस्ताफिजुर रहमानले ३, शाकिब अल हसनले २ तथा तास्किन अहमदले १ विकेट लिए।
सेन्ट भिसेन्टमा समूह चरणको अन्तिम खेल खेलेको नेपालले बंगलादेशलाई १९.३ ओभरमा अल आउट गरी १०६ रनमा समेटेको थियो।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल र सन्दीप लामिछानेले २/२ विकेट लिएका थिए।
सुरुवाती तीन खेलमा जित निकाल्न नकसेपछि नेपाल सुपर-८ मा पुग्न असफल भएको छ। जितसँगै बंगलादेश सुपर आठमा पुगेको छ।
नेपाल तेस्रो खेलमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो।
पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको हार बेहोर्दा श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो।