डडेल्धुरा– डडेल्धुरामा अनशनरत डा. गोविन्द केसीलाई अनशनस्थल सार्न प्रहरीले दबाव दिएको छ । तर, समर्थकले नसार्न आग्रह गरेपछि केसी उपचाररत डडेल्धुरा अस्पतालमा तनाव भएको छ ।
अनशनस्थलमा रहेका डा. केसीका भाइ किशोरका अनुसार शोमबार बिहानैदेखि प्रहरीले केसीलाई अनशन छोडाएर लैजान दबाव दिएका छन् ।
‘प्रहरीले डा. केसीलाई कहाँ लान खोजेको हो, केही जानकारी दिएको छैन । तर, उठाएर लैजान दबाव दिइरहेको छ’, केसीका भाइ किशोरलले भन्नुभयो ।
प्रहरीले केसीलाई अनशनस्थल छाड्न दबाव दिएपछि केसीका समर्थकले भने त्यसो नगर्न प्रहरीसँग आग्रह गरिरहेका छन् ।
प्रहरी र डाक्टर केसीका समर्थकका कारण अहिले डढेल्धुरा अस्पताल तनावग्रस्त रहेको किशोरले जानकारी भन्नुभयो ।
केसीको पिसाबबाट प्रोटिन गएकाले मिर्गौलामा असर पर्ने भन्दै डडेल्धुरा अस्पतालले हिजैबाट डाक्टर केसीको उपचार गर्न नसक्ने जनाएको छ । अस्पतालले केसीको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको भनी जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य मन्त्रालय लगायतका सरकारी निकायलाई लिखित जानकारी दिइसकेको छ । केसीको रक्तचाप र मुटुको धड्कन अनियमित भएकाले सुविधा सम्पन्न अस्पतालमा उपचार गराउनु पर्ने अस्पतालको भनाइ छ ।
केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डाक्टर केसीका समर्थकले प्रदर्शन गरिरहेका छन् ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका केसी ६ दिनअघि डडेल्धुरा पुगेर अनशन बसेका थिए ।
केसीलाई लिन हेलिकोप्टर डडेल्धुरामा
आठ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीलाई लिन हेलिकोप्टर डडेल्धुरा पुगेको छ । स्वास्थ्यमा समस्या र अस्पतालमा आवश्यक उपचारका सामग्री नभएको अस्पतालले जनाएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ ।
त्यसका लागि हेलिकोप्टर डडेल्धुरा पुगेको हो। अहिले हेलिकोप्टर सैनिक ब्यारेकमा राखिएको छ । केसीलाई काठमाडौं लैजाने तयारी भएपछि डडेल्धुरामा आन्दोलन भइरहेको छ । नागरिक समाज डडेल्धुराले डडेल्धुरा बन्दको आयोजना गरेको छ ।
बन्दका कारण डडेल्धुरा, डोटी बैतडी लगायतका सात पहाडी जिल्लामा जाने यातायत ठप्प छ ।