कैलालीको घोडाघोडी नगरपालिकामा सुधार केन्द्रमा भएको युवक हत्याकाण्डमा १२ जना जेल चालान भएका छन ।
बैशाख २५ गते खाना मिठो भएन भनेर सुधारगृहबाट बाहिर जान खोजका २५ वर्षीय सुनिल शाहीको कुटिकुटि हत्या गरिएको थियो ।
हत्या प्रकरणमा अुसन्धानका लागि सुधार केन्द्रका सञ्चालक बल खत्री र सञ्चालक समिति अध्यक्ष होम तामाङसहितका १७ जनालाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको थियो । पक्राउ परेका १७ मध्ये ७ जनालाई पुर्पक्षका लागि र ५ जना धरौटी बुझाउन नसकेर कारागार चलान भएका छन् । सञ्चालक खत्रीसहित ३ जना भने धरौटीमा छुटेका छन् ।
यस्तै १ जनालाई आफन्तको जिम्मा लगाइएको छ भने अर्का एक जनालाई उमेर नपुगेका कारण सुधार केन्द्रमा राखिएको छ । जिल्ला अदालत कैलालीले घटनामा संलग्न भएको आरोपमा बिपुल सापकोटा, सुदर्शन अधिकारी, भुपेन्द्र खड्का, नवीन रावल, आकाश अधिकारी, सुमन भट्ट, कृष्ण तिमलसिनालाई पुर्पक्षका लागि जेल पठाएको हो ।
यस्तै कमल रिजाल, गौरव आचार्य, विनोद शाही, नमराज चौधरी, रोशन ऐर धरौटी तिर्न नसकेर कारागार चलान भएका हुन । सुधार केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष होम तामाङ्ग ५ लाख, सञ्चालक खत्री ७ लाख र दिनेश मन्नी ३ लाख धरौटी तिरेर छुटेका छन् । मुस्कान सुनारलाई आफन्तको जिम्मा लगाइएको छ भने एक जनाको उमेर नपुगेका कारण सुधार गृहमा राखिएको छ ।
घोडाघोडी नगरपालिका–४ मा रहेको नयाँ बाटो पुनःस्थापना केन्द्रमा बैशाख २५ गते मृत भेटिएका २५ वर्षीय सुनील शाहीको मरणासन्न हुनेगरी कुटपिट गर्दा मृत्युभएको थियो । शाहीले सुधारकेन्द्रमा खाना मिठो नभएको भन्दै राति भाग्न खोजेपछि बाउन्ड्री वालबाट तानेर भित्र लगेर, सुधारगृहमा रहेका ८÷९ जनाले मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीलाई उनीहरुले दिएको प्रारम्भीक बयानबाट खुलेको थियो ।
कुटपिट पछि राती नै ज्यान गुमाएका शाहीले छतबाट हाम फालेको भन्दै नक्कली घटना बनाउन खोजेको रहस्य खुलेको थियो ।