शुक्लाफाँटा नगरपालिकाले अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालेको छ ।
शुक्लाफाँटास्थित पूर्वपश्चिम राजमार्गमा सडक अधिकार क्षेत्रभित्र अनाधिकृत रुपमा बनाइएका तथा राखिएका संरचनाहरु हटाउनका लागि पटक पटक सार्वजनिक सुचना जारी गरेपनि व्यवसायीहरुले नमानेपछि नगरपालिकाले डोजर लगाएर हटाउन सुरु गरेको हो ।
यसक्रममा मंगलबार नगरपालिकाले बनसमिति बजारमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाएको छ ।सडक अधिकार क्षेत्र अतिक्रमण गरी बनाइएका तथा राखिएका संरचना,सामाग्री,खोकाछाप्रा,टहरा,निर्माण सामाग्री,प्रचारप्रसार सामाग्री हटाउने कार्य अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।
सडकमै व्यापार सञ्चालन हुँदै आएका कारण बजार र राजमार्गको सौन्दर्य कुरुप बन्दै गएको,सडक दुर्घटना वृद्धि,आवागमनमा असहज भएकाले सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालिएको नगर प्रमुख रण बहादुर महराले बताए ।
'अनाधिकृत संरचना हटाउन सार्वजनिक सुचना संगै सञ्चारमाध्यमबाट जानकारी गराउँदा समेत अटेर गरिएपछि बाध्य भएर अतिक्रमित संरचना हटाउन लागेका हौँ,हामी आफैले पनि सडकमा पर्ने संरचना हटाउन आग्रह गर्यौ । तर,व्यवसायीहरुले मान्नुभएन,नगर प्रमुख महराले भने,अस्तव्यस्त बजारलाई व्यवस्थित बनाउन खोजिरहेका छौँ ।”
सडक अधिकार क्षेत्रको केन्द्र विन्दुबाट २५ मिटर दाँया बाँया भित्र पर्ने संरचनाहरु हटाउन लागिएको नगर उपप्रमुख कल्पना जोशी (पन्त)ले बताइन् ।
सडक अधिकार क्षेत्रभित्र अनाधिकृत रुपमा राखिएका संरचना तथा सामग्री हटाउने कार्यका लागि नगरपालिकाले वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक गणेश बिकको नेतृत्वमा सहजीकरण समिति गठन गरेको छ ।