मधेस प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ।मधेसमा एकीकृत समाजवादीका दुई जना मन्त्रीहरूले मंगलबार पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री सरोजकुमार यादवलाई एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा पत्र बुझाएका हुन्।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले पदबाट राजीनामा दिएका छन्।
जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले जानकारी दिइन्।
मधेसमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन नेकपा (एमाले), माओवादी केन्द्रसहित तीन दलले लिखित सहमति गरेका थिए। यद्यपि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सत्तारूढ गठबन्धनसँग असन्तुष्ट भएका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको हो।
१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक छ। एमालेका सभामुखसहित २५, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन्। यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएको १९ दिन पार हुँदासमेत सरकारलाई पूर्णता दिन सकेका छैनन् ।
सत्ता साझेदार मुख्य दल एमाले र माओवादी केन्द्रले मन्त्रीको नाम नदिँदा मन्त्रीपरिषद् विस्तार हुन नसकेको हो । एमाले, माओवादी, एकीकृत समाजवादी, नाउपा (रञ्जिता समूह) र एक स्वतन्त्र सांसदको समर्थनमा सोडारी वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
तर सोडारीले जेठ ३ गते प्रदेश सभाबाट विश्वासको मत पाए । यद्यपि एमाले र माओवादीले अहिलेसम्म मन्त्रीको नाम पठाएका छैनन् । मुख्यमन्त्रीले नाउपाका दुई सांसदलाई समेटेर मन्त्रीपरिषद् गठन गरेका छन् । एमाले अझै पनि सरकारमा जाने मुडमा नरहेको नेताहरुले बताएका छन ।