अत्तरिया – कैलालीको गोदावरी नगरपालिका २ अत्तरियामा रहेको बसपार्कमा व्यवस्थित टिकट काउन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अत्तरिया बसपार्कलाई व्यवस्थित बनाउनका लागि गोदावरी नगरपालिकाको ५६ लाखको लागत स्टमेटमा बसपार्कमा टिकट काउन्टर निर्माण भईरहेको हो । गोदावरी नगरपालिकाको ५० लाख र उपभोक्ता समितिको ६ लाखको लागतमा १२ ओटा टिकट काउन्टर निर्माण भईरहेको गोदावरी नगरपालिकाका सव ईन्जिनियर राजेन्द्र भण्डारीले बताउनुभयो ।
अत्तरिया बसपार्क काउन्टर निर्माण समितिका अध्यक्ष धर्म सिंह साउँदले अबको ४/५ दिन भित्रमै सम्पुर्ण निर्माण कार्य सम्पन्न हुने बताउनुभयो । उहाँले काउन्टरको निर्माण सकिएको र केहि काउन्टरको भ्याल ढोका लगाउने काम मात्रै बाकि रहेको बताउनुभयो ।
अहिले अत्तरिया बसपार्कमा बिभिन्न बस व्यवसायिहरुले आ–आफ्नो खोकाछाप्रामा टिकट काउन्टर सञ्चालन गर्दै आएका छन । बस व्यवसायिहरुले पहाडी जिल्लाका लागि बसपार्कको पुर्वी क्षेत्रमा आ–आफ्ना टिकट काउन्टर राखेका छन भने पुर्वी क्षेत्रजाने सवारी साधनका लागि बसपार्कको दक्षिण क्षेत्रमा टिकट काउन्टर राखेर सेवा दिदै आएका छन ।
अव्यवस्थित रुपमा राखिएका टिकट काउन्टरले बसपार्क नै कुरुप देखिने र टिकट काट्न पनि असहज हुने भएकाले बसपार्कमा नगरपालिकाले टिकट काउन्टर निर्माण गर्न लागेको हो ।

अहिले व्यवसायिहरुले संचालन गरेका टिकट काउन्टर सामान्य खोकाछाप्रामा संचालनमा रहेकाले यात्रुहरुलाई चर्को घाम लागेको बेला र पानी परेको बेला टिकट काट्न समस्या हुँदै आएको थियो ।
व्यवस्थित टिकट काउन्टर संचालनमा आएपछि टिकट काट्न यात्रुहरुलाई सहज हुने गोदावरी नगरपालिकाका प्रबक्ता शर्मानन्द भट्टले बताउनुभयो । उहाँले टिकट काउन्टर निर्माण पछि गोदावरी नगरपालिकाको कार्यसमिति बैठकबाट कसरी संचालन गरिने भन्ने बारेमा निर्णय गरिने बताउनुभयो ।
६ बर्ष अगाडी क्षेत्रीय बसपार्कको अबधारण सहित अगाडी बढेको अत्तरिया बषपार्क १ बर्ष अगाडी गोदावरी नगरपालिका मातहत ल्याईएको हो । दुर्गालक्ष्मी महिला सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको अत्तरिया बसपार्क २०७५ साउन १ गते बाट गोदावरी नगरपालिकाको मातहातमा आएको थियो ।
नगरपालिकाले बषपर्कलाई ठेक्कामा दिएर पार्किङ शुल्क उठाउँदै आएको छ । यस बर्ष पार्किङ शुल्क उठाउनका लागि रेखा निर्माण सेवा संग ९८ लाखमा ठेक्का सम्भौता भएको छ ।
