कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नागरिकता किर्ते प्रकरणमा पक्राउ परेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रतिक्रिया दिएका छन् ।
गृह जिल्ला झापामा रहेका उनले पत्रकारहरूसँग कुरा गर्दै सिरोहिया पक्राउबारे टिप्पणी गरेका हुन् ।उनले भनेका छन्, ‘के लेखेको आरोप उनीमाथि लागेको छ ? म त यता छु कि, के लेखेको विषयमा उनीमाथि यसरी कारबाही भयो त ? के लेखेको विषयमा गिरफ्तारी भनेको छ सरकारले ? अहिले गिरफ्तारी लेखेको विषयमा हो र ? त्यस्तो गलत व्याख्या चाहिँ उचित हुँदैन ।’
अध्यक्ष ओलीले एक जना मिडिया हाउसको मान्छे पक्राउ पर्दैमा रोइकराइ गर्नुनपर्नेसमेत प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘जस्तो ह्यु एण्ड क्राई भन्छन् नि त्यो भइराखेको छ । त्यो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई । विवादको विषय हुन सक्छ । जन्मकैद गर्न खोजेको होइन । सञ्चारमाथिको हमला भनेर । पत्रकारमाथि फौजदारी अभियोग छ ? मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ । किन यस्तो समाचार प्रकाशित गर्यो ? किन यस्तो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ । फौजदारी कुरा होला । यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो ।’
ओलीले मन्त्री, उपप्रधानमन्त्रीलाई पक्राउ गर्दा केही नहुने तर अहिले सिरोहिया पक्राउ पर्दा लोकतन्त्रै हिल्लियो त भन्दै प्रश्नसमेत गरे । उनले भने, ‘ मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरी हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने ? डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? एक जना मिडिया हाउसका मानिस गिरफ्तार भए ? सही हो या गलत म त्यता जान चाहन्नँ । टाइमिङ ठीक भयो कि भएन त्यो बेग्लै कुरा होला तर डेमोक्रेसी नै खतरा परिहाल्यो त ?’
ओलीले सिरोहिया पक्राउ पर्दैमा सञ्चारका हक खोसिएको गलत व्याख्या उपयुक्त नहुने बताए ।