प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदमा चौथो पटक विश्वासको मत पाएका छन्।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन्।
प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा १५७ मत खस्यो भने विपक्षमा शून्य मत खसेको छ।
एक सांसद भने तटस्थ बसे। बैठकमा १५८ मत खसेको थियो।
सभामुख देवराज घिमिरेले उक्त मत सुनाएलगत्तै प्रधानमन्त्री प्रचण्डले बहुमत प्राप्त गरेको घोषणा गरे।
जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन्।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले चर्को नाराबाजी गरेका थिए।
संसदको कामकारवाही अघि बढाउन सभामुख घिमिरेले विपक्षी दलहरूलाई आग्रह गरेका थिए। तर,उनीहरू आफ्नो अडानबाट पछि नहटेपछि सभामुख घिमिरेले विपक्षी दललाई पेलेरै सदन अघि बढाएका थिए।
कांग्रेससहित विपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरोध गरेका हुन्।