डोटी- प्रसिद्ध धार्मिक स्थल बडिकेदारमा लाग्ने मेला भर्नेहरुको आज भिड लागेको छ।डोटीको दक्षिणी क्षेत्र बडिकेदार गाउँपालिकामा अवस्थित बडिकेदार धार्मिक जाँत हुँदैछ। बडिकेदार समुद्री सतहदेखि एक हजार आठ सय मिटर उचाइमा रहेको छ ।बडिकेदारमा हरेक वर्ष दुईपटक धार्मिक मेला लाग्ने गर्छ ।
फागुनमा पर्ने महाशिवरात्रि र कात्तिक बैकुण्ठ चतुर्दशीमा बडिकेदार पुजिन्छ । यही सेरोफेरोमा यहाँ तीर्थालुको बाक्लो भिड हुने गर्छ । यसवर्ष बैकुण्ठ चतुर्दशी कात्तिक २५ गते परेको छ । बडिकेदारमा डोटीसँगै कैलाली, कञ्चनपुर र भारतको उत्तरप्रदेशका तीर्थयात्रा गरेर दर्शन गर्न दर्शानर्थीहरुको भिड लागेको छ ।
मनोकामना पूरा हुने भन्दै तराईका आदिबासी थारू समुदाय र भारतको उत्तर प्रदेशका सहरहरु लखिमपुर, पलिया, बरेली, साहजनपुर, खटिमा र सिँगाहीबाट बर्सेनि कार्तिक बैकुण्ठ चतुर्दशीमा हजारौं तीर्थालु आएका छन् ।
किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय गाउँको एउटा गाई लेकमा चर्न आउने र दिनभर बडिकेदार शिलामा दूध चढाएर फर्कन्थ्यो । घरमा गाईले दूध नदिने भएकाले गोठालोले चियो गर्दा शिला भएको ठाउँमा दूध दिएको देखेपछि लानागाउँ वरपरका बासिन्दाहरु आएर पूजाआजा गर्न थालेका हुन् ।
विस्तारै बडिकेदारको दैवीय शक्तिको प्रचारप्रसार हुँदा पछिल्लो चारदशकयता कैलाली, कञ्चनपुरका थारू समुदाय र भारतको उत्तर प्रदेशका दर्शनार्थी आउन थालेका छन् ।बडिकेदार शिवजीको बासस्थान रहेको स्थानीयहरुको मान्यता छ । बडिकेदारमा शिवको प्रतिमूर्तिका रूपमा रहेको शिला छ । जहाँ शिवको प्रतिमा पनि खोपिएको छ । नजिकै बडेमानको ढुङ्गामा गाई र बाच्छाको मूर्तिसमेत छ ।
मूर्ति ठूलो भिरको बीचमा रहेको छ ।बडिकेदार धार्मिक आस्था मात्रै नभई वरपरको वातावरण, दृश्यावलोकन गर्न सकिने सुन्दर र रमणिय स्थल पनि हो । यसलाई धार्मिक तथा पर्यापर्यटनको दृष्टिकोणबाट प्रवद्र्धन गर्न सके यसक्षेत्रको आर्थिक समृद्धिमा हासिल गर्न मद्दत गर्ने जानकारहरु बताउछन् ।