प्रधानमन्त्री पुष्पकमल दाहाल ( ‘प्रचण्ड’ )ले चौथो पटक जेठ ७ गते विश्वासको मत लिने भएका छन्।
जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिन लागेका हुन ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन संघीय संसद् सचिवालयलाई पत्र पठाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
‘विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट सङ्घीय संसद्का महासचिवलाई सम्बोधन गरेर संसदको कार्यसूचीमा राख्न पत्र आएको छ। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्ने सूचना महासचिवलाई दिनुभएको हो।’
अधिकारीले भने, ‘सभामुखले कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर सम्भवतः प्रधानमन्त्रीले मागेकै दिनलाई तोक्नुहुनेछ।’
सरकारमै रहेर वर्तमान सत्ता गठबन्धनका दलसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जसपा नेपाल (उपेन्द्र यादव पक्ष)ले प्रचण्ड सरकारलाई दिएको समर्थन वैशाख ३१ गते फिर्ता लिएको थियो।
संविधानको धारा १०० को उपधारा (२)मा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न १३८ सांसदको समर्थन आवश्यक पर्छ। सरकारमा हाल एमाले (७९) सभामुख समेत,माओवादी केन्द्र (३०), रास्वपा (२१), जसपा (७), एकीकृत समाजवादी (१०) सहभागी छन्। नागरिक उन्मुक्ति र र स्वतन्त्र तीन सांसदको समर्थन रहेको छ।
प्रचण्डले पछिल्लो पटक २०८० फागुन ३० गते विश्वासको मत पाएका थिए ।