सुदूरपश्चिम प्रदेशमा अन्तत: एमालेले सरकारलाई विश्वासको मत दिने भएको छ ।
आज बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने निर्णय गरेको हो । मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिँदै छन् ।
‘हामीले विश्वासको मत दिन ह्विप लगाएका छौँ’ संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने ‘विश्वासको मत दिने र सरकार बाहिरैबाट हामीले समर्थन गर्ने निर्णय गरेका हौँ ।’एमालेले विश्वासको मत दिने निर्णय गरेसँगै मुख्यमन्त्री सोडारीले करिब विश्वासको मत पाउने निश्चित जस्तै भएको छ ।
वैशाख ६ गते एमाले, माओवादी नेकपा एकीकृत समाजवादी रन्जिता पक्षको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र एक सांसदको समर्थनमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।जेठ ४ गते सम्म उनले विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।
सुदूरपश्चिममा ५३ सांसद छन् । सोडारीले बहुमतको लागि २७ मत पाउनु पर्छ । यहाँ एमालेका ११, माओवादीका सभामुख बाहेक १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्ति पार्टीका ७ र स्वतन्त्र एक सांसद छन् । नाउपामा आन्तरिक विवाद छ । रेशम पक्षमा सांसदहरू यो सरकारको विपक्षमा छन् भने रन्जिता पक्षमा २ सांसद सरकारमै सहभागी छन् ।
सोडारीले विश्वासको मत पाए लगत्तै सरकार विस्तार हुने छ । अहिले सम्म सोडारी सहित नागरिक उन्मुक्तिका कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री र नाउपाकै टिका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त भएको थिए । ती बाहेकका माओवादी र एमाले अहिले पनि सरकार बाहिर छन् ।