बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१ ) मा मतदान जारी छ ।
सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताए ।
उपनिर्वाचन हुने प्रदेश सभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९३ मतदान केन्द्रमा मतदान सुरु भएको सो क्षेत्रको चुनावमा सात वटा पालिका ४९ र थलारा गाउँपालिकाको वडा नम्बर ९ सहित ५० वडाका मतदाता सहभागी भएका छन् ।
सात वटा पालिकामा जय पृथ्वी नगरपालिका ११, मष्टा ७, तलकोट ७, साइपाल ५, सुर्मा ५, छविसपाथिभरा ७, खप्तडछान्ना गाउँपालिकामा ७ वडा रहेका छन् ।
मतदान शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली खटिएको प्रहरी नायव उपरीक्षक शाहले बताए ।
सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएको पछि सो क्षेत्रमा उपनिर्वाचन हुन थालेको हो ।
११ जना उम्मेदवार रहेको सो क्षेत्रबाट मुख्य दलहरू क्रमशः नेपाली कांग्रेसले स्व. सिंहको जेठा छोरा अभिषेकबहादुर सिंह, नेकपा (एमाले) ले दमन भण्डारी, नेकपा (माओवादी केन्द्र ) का जनक बुढा र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।