अत्तरिया बसपार्क र आसपास का ६१ घरधुरी को संरक्षण को लागि कैलालीको अत्तरियामा छलफल गरिएको छ । अत्तरिया बसपार्क निर्माण समिति को आयोजनामा कार्यक्रम गरिएको हो ।
बिगत केही समय देखि अत्तरिया बसपार्क सहित ६१ घरधुरी नेपाली सेनाको भोगाधिकार भित्र पर्ने भन्दै सेनाले खाली गर्न भनेको छ । त्यस यता यहाँ नागरिक आन्दोलन को तयारी गरिएको छ ।
समितिका अध्यक्ष गोकर्ण भट्ट को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पुर्बमन्त्री कृष्णराज सुवेदी रहेका थिए । कार्यक्रममा बोल्दै निर्माण समितिका उपाध्यक्ष वसन्त रोकायाले संरचना बनिसकेको अबस्था सेनाले अहिले आएर जग्गा आफ्नो हो भन्नू हास्यास्पद रहेको बताए ।
उनले भने,'जनता र सरकार को लगानीमा बसपार्क लगाएत यहाँका संरचनामा धेरै नै भैसकेको छ । अहिले अब कसरी छोडन सकिन्छ र । यो कुराले द्वन्द्व को अवस्था पनि आउन सक्छ बरु सेना प्रहरीलाई जग्गा कहाँ दिन सकिन्छ त्यो सल्लाह गर्न सकिन्छ ।'
यस्तै दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष गिरीराज कडायतले कर्मचारीतन्त्र हाबी हुँदा यो समस्या आएको बताए । उनले राजनीतिक दल कै सरकार भएकाले जनता को भावना बिपरित सरकार जान नहुने तर्क गरे । कडायतले सेनाले ब्यापार गर्न बसपार्क कब्जा गर्ने नीति गलत भएको बताए ।
यस्तै दुर्गालक्ष्मी सामुदायिक बनकी अध्यक्ष शिबा कडायतले अहिले भनिए जस्तो बन को जग्गा सेना प्रहरी को नभएको बताए । उनले भनिन्,' "खै हामिलाई जानकारी छैन । जिल्ला बनले पनि केही भनेको छैन । हाम्रो किल्ला एरिया कहाँ सम्म हो ? सेना प्रहरी ले कहाँ सम्म लिएको हो त्यो केही थाहा छैन ।'
कार्यक्रममा बोल्दै कांग्रेसका अगुवा नेता पुष्पराज जोशीले सेना प्रहरीले जग्गा लिने बिषय बिगत देखि अत्तरिया मा पेचिलो बन्दै आएको र त्यसको विकसित रुप अहिले को समस्या भएको जिकिर गरे । उनले अहिले को जनप्रतिनिधिले यो समस्या समाधान को लागि बढी जिम्मेवारी लिनुपर्ने बताए ।
गोदावरी नगरपालिकाका प्रबक्ता गोपाल दत्त भट्ट ले बसपार्क लगाएत को जग्गा फिर्ता गराउन नगरपालिका कटिबद्ध भएको बताए। सेना प्रहरी अत्तरियाको बिकासमा बाधक बन्न नहुनेमा नगरपालिकाका सबै जनप्रतिनिधी एकमत रहेको उनको भनाई छ ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै पुर्बमन्त्री कृष्णराज सुबेदीले अत्तरिया को बिकासमा सरकार बाधक बन्न नहुने बताए । 'सेनालाई जग्गा दिन हामी जनता तयार छौ तर शाहिकाल को नजिर ल्याएर आहिले जग्गा हाम्रो हो भन्नू गलत हो । पुर्बतिर भएको भएको भए यो मुद्दा उहिले नै समाधान भैसक्थ्यो होला तर सुदुरपश्चिमका जनता को भावना किन सरकारले बुझ्न सकेन भन्ने जनता को प्रश्न हो ?; उनले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै समितिका अध्यक्ष गोकर्ण भट्ट ले आफू बिशुद्द बसपार्क लगाएतका संरचना जोगाउने उदेश्यले यसमा लागेको बताए ।'राजनीति गर्ने हाम्रा आफ्नै पार्टीहरु छन्, त्यहीँ गरौंला तर यहाँ कसैले राजनीति नगरौं । मलाई नेतृत्व लिन रहर पनि छैन युबा साथीहरूले लिएपनि हुन्छ तर बिरोध मात्रै गर्न भएन," उनले भने । भट्टले अहिले सेनाले लिने भनेको संरचना नछाडे जनतालाई साथमा लिएर अघि बढने बताए ।
६१ घरधुरीको तर्फबाट बोल्दै स्थानिय रुपेश बिकले आफुहरुको घर सेनाले लिए परिवारमा बिचल्ली हुने बताए । 'हामी सँग बाँकी केही छैन, गाउँको जग्गा बेचेर बजारमा घर बनायौ अब त्यो पनि सेनाले लिन्छ भने देश नै छोड्नु पर्ला हामी सँग केही छैन । हामी यँहा अहिले बसेका होइनौ नि कतिपय त धेरै पुरानो बस्ती हो, सेनाले नै नापी गर्न भनेको हो फेरी हामीलाई सेनाले नै छोडन भनेपछि अब कहाँ जाने ?' रुपेशको गुनासो छ ।
कार्यक्रम को संचालन समितिका सदस्य राजेन्द्र खड्काले गरेका थिए ।