कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई ज्ञापन पत्र बुझाएको छ । समितीका संयोजक लोकराज पाण्डे आगो सहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।
सुदूरपश्चिम विश्वविद्यालयको चौँथो दीक्षान्त समारोहको लागी यँहा आएका प्रधानमन्त्री समक्ष चिकित्सा विज्ञान विश्वविद्यालय छिटो सन्चालन हुनुपर्ने लगाएतका मागहरु राखिएको संयोजक पाण्डेले बताए । संघर्ष समितिले बिगत लामो समय देखी विश्वविद्यालयको माग गर्दै आन्दोलन गर्दै आएको थियो ।
ज्ञापन पत्र यस्तो छ :
सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरवार, काठमाण्डौं, नेपाल
मिति : २०८१/०१/०९
विषय : हार्दिक धन्यवाद् सहित ज्ञापन-पत्र
यहाँको प्रस्ताव, समर्थन र सहयोगबाट नै सुदूरपश्चिमको राष्ट्रिय गौरवको योजना कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्व विद्यालयको स्थापनाको कार्य यहाँसम्म आई पुगेको हो। यहाँलाई हामी सुदूरपश्चिमेली जनताको तर्फबाट विशेष धन्यवाद ज्ञापन गर्दछौ । सुदूरपश्चिमका लाखौं जनताहरुको साझा सपनाको रुपमा रहेको कैलाली जिल्लाको गेटा स्थित शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सिघ्र संचालनार्थ सुदूरपश्चिमेलीहरु स्वतः स्फुर्त रुपमा आन्दोलित भइरहेको व्यहोरा यहाँ समक्ष अवगत नै छ ।
संघिय राज्य सत्ताबाट पटक-पटक सुदूरपश्चिमेलीहरु प्रति गरिएको विभेद तथा अन्यायको शिलशिलाको रुपमा गेटा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनमा भइरहेको ढिलाईलाई हामिले बुझेका छौं । विगत लामो समयदेखि नेपाल सरकारको मितिः २०७९/१०/२९ गतेको निर्णय कार्यान्वयन गराउनका लागि हामी संघर्ष समिति नै गठन गरेर आन्दोलनमा होमिएको व्यहोरा अवगत गराउँदछौं। नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा समेत सुदूरपश्चिममा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय नै स्थापना गर्ने भनी सम्माननीय राष्ट्रपति ज्यूबाट घोषणा भएको र सुदूरपश्चिमका अधिकांश माननीय ज्यूहरुले समेत संघिय संसदमा उक्त विषयलाई प्रमुखताका साथ उठान गरेको तथ्य समेत सम्माननीय प्रधानमन्त्री ज्यूलाई अवगत भएको विषय नै हो।
यसै सन्दर्भमा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनार्थ विधेयक राष्ट्रिय सभावाट पारित भई प्रतिनिधि सभामा पेस हुनका लागि प्रतिक्षारत रहेकोमा सम्माननीय प्रधानमन्त्री ज्यूको पहलमा उक्त विधेयक प्रतिनिधि सभावाट पारित गराउँनका लागि अहम् भुमिका हुनेछ भन्ने विश्वास लिएका छौं। सम्माननीय प्रधानमन्त्री ज्यूले यस सम्बन्धि विधेयकलाई मिति २०८०/०६/१६ गतेको मन्त्री परिषद्बाट अनुमोदन गराउँनु भएको एवम् सार्वजनिक कार्यक्रमहरुमा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका सम्वन्धमा गर्नु भएको प्रतिवद्धताका लागि संघर्ष समितिको तर्फवाट हार्दिक धन्यवाद् ज्ञापन गर्न चाहन्छौं ।
हाम्रो एक मात्र धेय संघिय संसदको आगामी अधिवेशनमा स्वास्थ्य विज्ञान विश्व विद्यालय सम्बन्धि विधेयक पास गर्नुका साथै ६०० सैयाको अस्पताल समेत सञ्चालन गरियोस् भन्ने रहेको छ । सुदूरपश्चिमेलीहरुको सामुहिक प्रयत्न र संघर्षबाट विगतमा समेत हामीले थुप्रै उपलव्धिहरु हासिल गरिसकेका छौ । अन्त्यमा हाल गेटामा सञ्चालनमा रहेको १०० सैयाको ओ.पी डी ले सुदूरपश्चिमेलीहरुको भावना तथा आवश्यकताको परिपूर्ती नगर्ने जानकारी गराउँदै यथासिघ्घ्र ६०० सैयाको पूर्णकालिन अस्पताल सञ्चालनका लागि संघिय सांसदबाट पनि स्विकृत हुने कुरामा हामी पूर्ण विश्वासका साथ प्रतिक्षारत रहेको व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष सादर अनुरोध गर्दै हार्दिक धन्यवादका साथ यो ज्ञापन पत्र पेश गर्दछौं ।
(शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति)
सुदूरपश्चिम प्रदेश, अत्तरिया-कैलाली