प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता समीकरण पूरै समयावधि चल्ने दाबी गरेका छन । प्रेस सेन्टर कैलालीले धनगढी विमानस्थलमा आज गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन पूरै अवधिसम्म जाने बताए ।
‘बाहिर विभिन्न खालका चर्चा–परिचर्चा भए पनि त्यस्तो केही छैन। यो समीकरण पूरै अवधि जान्छ,’ प्रचण्डले भने, ‘प्रदेशमा सरकार बनाउने प्रक्रिया पनि करिब–करिब अन्तिम चरणमा छ।’ उनले अहिले वामपन्थीको मात्र भनेर सत्ता समीकरण निर्माण नगरिएको बताए।
‘अहिले हामी वामपन्थीको मात्र भनेर समीकरण गरेका होइनौँ। त्यसकारण अहिले वाम एकता भन्नु सही पनि छैन। किनभने गठबन्धनमा वाम–गैरवाम सबै छन्,’ उनले भने, ‘यसलाई सत्तासमीकरणको रूपमा लिएका छौँ। राम्रो काम छलफल हुँदै गए, समझदारी राम्रो हुँदै गए विचार मिल्ने एक ठाउँमा हुन पनि सक्छन्।’
यस्तै प्रधानमन्त्रीले सरकारले यसपालि बजेट पनि परम्परागतभन्दा फरक तरिकाले ल्याउन लागेको बताए। बजेटको तयारी अन्तिम चरणमा रहेको जानकारी दिँदै उनले बजेटलाई वैज्ञानिक र वस्तुगत बनाइने दाबी गरे।प्रधानमन्त्री प्रचण्ड कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहलाई सम्बोधन गर्न यँहा आएका हुन ।
प्रधानमन्त्रीलाई स्वागत गर्न प्रदेश प्रमुख नजिर मिया, नवनियुक्त मुख्यमन्त्री दीर्घबहादु सोडारी, मन्त्री कैलाश चौधरी, नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोख्रेल, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य, पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टलगायत धनगढी विमानस्थल पुगेका थिए ।