नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशमलाई चौधरीले केही स्वार्थी मान्छे आफ्नो र रन्जिताको सम्बन्ध र पार्टीलाई सिद्ध्याउने खेलमा लागेको आरोप लगाएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै रेशमले रन्जिता सोझी र अन्जान रहेको भन्दै स्वार्थी मान्छेले त्यसको फाइदा उठाएको बताएका छन् ।
'केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिद्ध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर, तिमीले बुझेनौं,' रेशमले लेखेका छन्, 'तिमी सोझी र अन्जान छ्यौं तर, मुडी छ्यौं भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए । शान्त तलाउमा ढुंगा हानेर तरंगित बनाउनेहरू सबको पहिचान छ । कसको स्वार्थ कहाँ र के का लागि छ त्यो पनि थाहा छ ।'
यी विषयमा सम्झाउन आफू फेरि कैलालीबाट काठमाडौं आउन लागेको उनले बताएका छन् । तर, केही स्वार्थी समूहले आफूहरूबीचको संवाद रोक्ने प्रयास गरिरहेको उनको भनाइ छ । 'यिनले हाम्रो संवादलाई कसरी रोक्न सकिन्छ, अहिले पनि रोक्ने प्रयत्न गरिनै राखेका छन् । तर, अब रोकिनुहुन्न । संवादको शुरूआत गरे दुवैको मन हल्का होला,' उनले लेखेका छन्, 'नबिर्सनु रन्जिता, यिनले हामीलाई राम्रो नाच्यो भनेर थपडी बजाएजस्तो नाटक मात्रै गरेका हुन् । वास्तवमा यिनले हामी दुवैलाई नङ्ग्याई राखेका मात्रै हुन् ।'
रेशमले तीन कुराबाट बच्न रन्जितालाई सुझाव दिएका छन् । उनले यी सबैलाई नजितबाट नियाली रहेको बताएका छन् । छोरी, भाउजू र भान्जी भन्नेसँग बच्न उनले सुझाएका छन् ।
संरक्षक चौधरीले मिल्दा पनि मनैले मिल्न र छुट्टिँदा पनि जग नहँसाएर छुट्टिन आग्रह गरेका छन् । ‘जसले तिमिलाई मन्त्रीज्यू भन्छ त्यो चाहिँ तिम्रो असली कार्यकर्ता हो । अहिले म काठमाडौंमा केवल तिमी भेट्ने उद्देश्यले मात्रै आउँदैछु । केवल २ जनाको मात्रै वार्तालाप होस् । एक आपसमा मन माझौँ,’ उनले भनेका छन्, ‘मिल्दा पनि मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ । हाम्रा सन्तान इष्टमित्र सबैलाई आहट भएको छ । यसैमा दुवैको भलाई छ र पार्टीको कल्याण पनि ।’
प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने/नगर्ने भन्ने विषयबाट शुरू भएको नाउपाभित्रको विवाद अहिले चरम उत्कर्षमा पुगेको छ ।
यस्तो छ उनले लेखेको स्टाटस