सुदूरपश्चिम प्रदेशमा आज नयाँ वर्षसँगै बिसु पर्व मनाइँदै छ । सुदूरपश्चिमका जिल्लाहरूमा नयाँ वर्षको पहिलो दिनलाई हर्षोल्लासका साथ बिसु पर्वका रूपमा मनाउने गरिन्छ ।
यो पर्व मनाउनका लागि रोजगारीको सिलसिलामा घर बाहिर रहेका तथा भारत लगायतका अन्य मुलुकमा रहेकाहरू गाउँ फर्किने गर्दछन् ।
बिसु पर्व (नयाँ वर्ष) को पहिलो दिन सरसफाइ गर्ने, नुहाउने, नयाँ लुगा लगाउने, नयाँ कामको थालनी गर्ने र मिठा मिठा परिकार बनाएर खाने प्रचलन रहेको छ ।
बिहानै नजिकको पँधेरो, खोलामा गई नुहाएर सिस्नुले चिलाउने प्रचलन रहेको छ । विषेश गरी यस पर्वका अवसरमा देवर – भाउजू, नन्द – भाउजू र साली – भिनाजुबिच एक आपसमा सिस्नु हानाहान गर्ने चलन रहेको छ ।
हाँसो ठट्टा गर्न मिल्ने नाताको रूपमा हेरिने यी नाताका व्यक्तिहरूले एकले अर्कोलाई सिस्नुको मुठोले हातखुट्टा झमझमाउने गरी हान्ने गरिन्छ ।
धेरैजस्तो व्यक्तिहरूले बिहान नुहाई सकेपछि आफैले आफैलाई सिस्नुले चिलाउने प्रचलन रहेको छ । वैशाख १ गरेका दिन सिस्नुले चिलाउने प्रचलन अनिवार्य जस्तै छ ।
बिसु पर्वका अवसरमा सुदूरपश्चिमका डोटी, दार्चुला, अछाम, डडेलधुरा, बझाङ, बाजुरा, बैतडी, कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका पहाडी समुदायले सिस्नु लगाउने गरेको पाइन्छ ।
यस पर्वका अवसरमा साना बालबालिकाहरूको कान छेड्ने, कपाल काट्ने, अन्न प्राशन गराउने, विवाह, व्रतबन्ध गर्ने नयाँ घरको जग राख्ने, नयाँ व्यापार व्यवसायको सुरुवात गर्ने लगायत जीवनका अरू महत्त्वपूर्ण अनुष्ठान पनि गरिन्छ।
बिसु पर्व नजिकिँदै गर्दा चैत्र महिनाको अन्त्य तिर माटोको घर लिपपोत गर्ने, कमेरो लगाउने र पक्की घरहरूमा रङ्ग रोगन गर्ने कार्य पनि गरिन्छ। यस पर्वका अवसरमा सुदूरपश्चिमका कतिपय क्षेत्रमा जात्रा, मेला लाग्ने गर्दछ भने शक्ति पीठहरूमा पूजाआजा गरिन्छ ।