केन्द्रको समिकरण अनुसार नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापन पक्षले सुदूपश्चिम प्रदेशमा आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने गृहकार्यलाई तीव्रता दिएको छ ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षदर सांसद कैलाश चौधरीले सरकार निर्माणको लागी छलफल अगाडी बढाएका छन । यदपी नाउपाका बहुमत सांसद भने कैलाशको पक्षमा छैनन ।
नेपाली कांग्रेसका कमल बहादुर शाह नेतृत्वको सरकार चैत्र २२ गते ढलेपछि प्रदेश प्रमुख नजिर मियाँले १० दिन (वैशाख २ गते)भित्र संविधानको धारा १६८ को २ अनुसार सरकार गठनको लागि आह्वान गरेका छन् ।
यहाँ बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना चाहिन्छ । तर ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको र हालै नाउपाको इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् । अब सरकार निर्माण गर्न २६ जना भए पुग्छ ।
नयाँ सत्ता गठबन्धन घटक दल माओवादीको १० (सभामुख बाहेक), एमालेको १०, एकीकृत समाजवादीको ४ र नाउपाको ६ मध्ये ३ र स्वतन्त्र सांसदको समर्थनमा दाबी पेस गर्ने नाउपा संस्थापनको तयारी छ ।
वैशाख २ गतेभित्र सरकार बन्न नसकेको अवस्थामा स्वाभाविक रुपमा संविधानको धारा १६८ को ३ अनुसार कांग्रेसलाई ठुलो दलको हैसियतले पुनः सरकार बनाउने बाटो खुल्ने भएकोले कांग्रेस पनि सरकार बनाउने रणनीतिमा लागेको बुझिएको छ ।