इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईदउलफित्र’ आज मनाइँदै छ । ईदउलफित्र मनाउनका लागि आज मुस्मिलम समुदाय ‘ईदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् ।
मुसलमानहरुले धार्मिक ग्रन्थ कुरान अवतरणको सुरुवात भएको यो महिनालाई रमजान (रोजा–उपवास) लिने महिना समाप्त भएको भोलिपल्ट ईदउलफित्र मनाउने गरेका छन्।
यो पर्वका लागि मुसलमान समुदायले एक महिना व्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्ने गर्दछन् ।
हाल उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४७ हो। रमजान महिना नवौं महिना हो । रमजान महिनामा नै मुस्लमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु यो महिनाको ठूलो विशेषता मानिन्छ ।
ईदलाई मुस्लिम समुदायले आपसी सद्भाव र शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरेका छन् ।
विशेष नमाज पढिसकेपछि आफूभन्दा ठूलावडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिंदै मिष्ठान्न एवं स्वादिष्ट परिकार खाने र खुवाउने परम्परा यस पर्वमा रहेको छ ।
एक महिनासम्म चल्ने रमजानमा मुस्लिम धर्मालम्वीहरुले सूर्य उदाउनुभन्दा लगभग दुई घण्टाअगाडि केही खानेकुरा (सेहरी) खाई सुरु हुने रोजा सूर्यास्तपछि सकिन्छ ।
रोजाको समयमा दिनभर मुसलमानहरु निराहार बस्नुपर्छ । रोजा लिनेहरुले आफ्ना पाँचै ईन्द्रीयहरुमा नियन्त्रण राखी दिनभरि निराहार बस्नुपर्ने मान्यता रहेको छ।
रोजा अवधिमा खानपिन, जेमा (यौन सम्पर्क) गर्न वञ्चित गरिएको हुन्छ । जानीजानी निषेध गरेको काम गर्यो वा खानेकुरा खायो भने जरिवानास्वरुप (कफ्फारह )६० जना गरिब असहायलाई भोजन गराउनुपर्ने व्यवस्था रहेको बताइएको छ।
पर्व कै अबसर पारेर सरकारले सार्बजनिक बिदा दिएको छ ।