नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कञ्चनपुरले लामो समयदेखि ब्राउन सुगरको कारोबार गरिरहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका ३० वर्षीय भुवन साहुलाई पक्राउ गरेको छ ।
उनलाई ३४ ग्राम ब्रोउन सुगरसहित महेन्द्रनगरको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो । साहु लामो समयदेखि ब्राउन सुगरको कारोबार गरिरहेको प्रहरीलाई सूचना थियो । उनी यसअघि पनि लागुपदार्थ ओसारपसारमा कञ्चनपुर कारागार बसिसहेका व्यक्ति हुन् ।
प्रहरीले दिएको जानकारी अनुसार उनी बढीजसो काठमाडौंमा बस्ने गर्छन । एक/दुई महिनामा उनी महेन्द्रनगर आउँछन । महेन्द्रनगर आएका बेला उनले भारतबाट ब्राउन सुगर ल्याएर महेन्द्रनगरदेखि काठमाडौं सम्मका युवाहरूलाई बिक्री गर्छन् ।
उनको भारतको उधमसिह नगर जिल्लाको नानकमत्ताका ब्राउन सुगर कारोबारीसँग ‘कनेक्सन’ छ । सञ्जुबाबा नाम गरेका नानकमत्ताका कारोबारीबाट उनले बुधबार ३४ ग्राम खैरो हिरोइन किनेर ल्याएका हुन् ।
‘हामीलाई उनी महेन्द्रनगर आएको खबर आएको थियो । हाम्रो टीम उसको खोजीमा हिँड्यो । बुधबार उनी बनबासातिर गएका थिए । उसले बुधबार नै नानकमत्ता गएर ब्राउन सुगर ल्याएको रहेछ । हामीले महाकाली नदी किनारको भाइरल रोड क्षेत्रमा उसलाई ढुकिरहेका थियौं । ऊ आयो, हामीले उसको पिछा गर्यौं,बसपार्क आसपासमा एकपटक त उ गायव भयो तर हामीले उसलाई पक्राउ गर्न सफल भयौं,'अप्रेशन कमाण्डर प्रहरी बरिष्ठ नायव निरीक्षक केशव जोशीले भने ।
उनका अनुसार पछिल्लो समय भारतका सीमा सहरहरूमा ब्राउन सुगरका कारोबारी बढिरहेका छन् । बनबसा, खटिमा, नाकमत्ता, गौरीफन्टा, पलियाकला, बेलौरी पारीको सीमा क्षेत्रमा कारोबारीहरु बढिरहेका हुन् ।
पक्राउ परेका साहुको साथबाट नगद ८ हजार रूपैयाँ र मोबाइल समेत बरामद गरिएको छ । साहुलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।