बैतडी – ट्याक्टर दुर्घटनामा घाईते भएका ११ जनाको पहिचान खुलेको छ । शनिबार बिहान भएको दुर्घटनामा घाइते हुनेहरुमा पाटन –पञ्चेश्वर सडकमा काम गर्ने मजदूर रहेका छन् ।
घाइते हुनेहरुमा कपिलबस्तु शिवराज नगरपालिका १ का १९ बर्षीय चन्दु थारु, १६ बर्षीया अञ्जली थारु, १८ बर्षीया रबिना थारु १९ बर्षीय देउकुमाल थारु र १८ बर्षीया सिर्जना थारु रहेका छन् ।
यस्तै सोही ठाउँका २० बर्षीया रितु थारु, २२ बर्षीय किसन थारु,२० बर्षीया फूलमती थारु, १८ बर्षीया अमिता थारु, २० बर्षीय लाइकराम थारु र कैलालीको गौरीगैगा नगरपालिका ३ का कोट्टारी चौधरी पनि घाइते भएका छन् ।
घाइतेमध्ये चन्दु, अञ्जली, रबिना, देउकुमाल र सिर्जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायव निरीक्षक वीरभद्र खडायतले जानकारी दिनुभयो ।
उनीहरुले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछी रेफर गरिएको छ । अन्य घाइतेको पाटनमै उपचार भइरहेको छ । पाटन बजारवाट सडकमा काम गर्नका लागी मजदूर बोकेर हिडेको ग्वाल्लेक निर्माण सेवाको लु ३ प ३६८१ नम्बरको ट्याक्टर पाटन नगरपालिका ६ कद्वारनजिक मेलापानीमा दुर्घटनामा परेको हो ।
दुर्घटनाको कारण खुल्न सकेको छैन् । ट्याक्टर सडकवाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।