फागुन अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ खेली आपसी सद्भाव साटेर मनाइँदै छ।
आइतबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।
मिथिलाञ्चल क्षेत्रमा मनाइने होली देशको अन्यत्र भाग भन्दा फरक हुन्छ। फागु पूर्णिमाका रूपमा समेत बुझिने होली नेपाल र भारतको भूभाग समेटिएको मिथिला बृहत् परिक्रमा क्षेत्रमा पूर्णिमाका दिन पर्दैन। त्यसको भोलिपल्ट पर्छ।
पूर्णिमाको दिन जनकपुरधामको परिक्रमा गरिने भएकाले मदिरा र मासु सेवन वर्जित गरिएको हुन्छ। दोस्रो पूर्णिमाको दिन १५ दिने परिक्रमाको समापन दिन हो र मिथिलावासीहरू परिक्रमाले थकित भएका हुन्छन्।
त्यसैले पूर्णिमाको दिन परिक्रमा घुमेर त्यसको भोलिपल्ट मात्र होली खेल्ने गर्दछन्।
यो मदनोत्सव हो। अनि यसमा मानिसहरू मदमस्त हुन्छन्। वसन्त पञ्चमीको दिनदेखि डम्फु, झयाल, ढोलकका साथ होलीका गीत गाउने होलैताहरू तयार हुन्छन्। यो क्रम फागुन पूर्णिमाको भोलिसम्म चल्छ।
पूर्णिमाको राति होलीका गीतहरू (फागु) गाउँदै होलिका दहन गरिन्छ र भोलिपल्ट फागु मनाइन्छ।
फागुका दिन रंग अबिर खेलेर बेलुका होलिका दहन गरिएको स्थानमा गएर खरानी उडाउँदै ‘जे जीवे से खेले फागु जे मरे से लेखा ले’ भन्दै त्यहाँबाट ‘चैतावर’ गीत (चैत महिनाको गीत) गाउँदै फर्किने गरिन्छ।
पहिले पहिले गाउँघरमा दूध र मसला मिश्रित भाङ तयार हुन्थ्यो। जसलाई शिवशंकरको प्रसाद पनि भनिन्थयो। जसले मात चढ्थ्यो। अर्थात मानिस भाङ खाएर मतवाला हुन्थे।
होलैता समूहमा प्रत्येक टोलको मानिसहरू सहभागी हुन्थे र उनीहरू घरघरमा पुगेर होली गीत गाउने गर्थे। होलैतालाई भाङ, अबिर, पान र मसालेदार सुपारी प्रदान गरी बिदा गरिन्थ्यो। भाङलाई अहिले मदिरा, मद्य, मांसले विस्थापित गरेको छ।
तराईका जिल्लामा फागु पूर्णिमाको भोलिपल्ट मनाइने होलीमा पहिला भगवानलाई रंग चढाएर र आफ्ना परिवारका सदस्यसँग रंग लगाएपछि आफन्त र छिमेकीसँग खेल्ने गरिन्छ।