मुटु रोगबाट ग्रसित कैलाली गोदावरी नगरपालिका २ की कमला विष्टलाई बचाउन अभियान शुरु गरिएको छ ।
एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्टले कमला बचाउ अभियान शुरु गरेका हुन ।
‘रकम नभएरै उपचार गर्न नपाउने अवस्था आउनु विडम्बनापूर्ण हो ’ उनले भने ‘हामीले आर्थिक संकलन सुरु गरेका छौँ धेरैले सहयोग गर्न थाल्नु भएको छ ।’
आफूले पाँच हजार सहयोग सहित सुरु गरेको अभियानमा अहिले जोडिनेहरूको संख्या बढिरहेको उनले बताए । । उनले आफ्नै ई सेवा नम्बर दिएर रकम सङ्कलनको अभियान सुरु गरेका हुन् । उनले सहयोग गर्न चाहनेले ९८५१०३६४४४ नम्बरमा सहयोग रकम उपलब्ध गराउन सक्ने र त्यस बारेमा जानकारी दिन आग्रह गरेका छन् ।
कमला स्थानीय छरछिमेकले चन्दा संकलन गरेर अहिले सम्म औषधी उपलब्ध गराइरहेका छन् । तर, मुटुको भल्भ फेर्नुपर्ने भएपछि उपचारमा समस्या भएको उनका छिमेकी तथा आफन्त बेलु विष्टले बताइन् ।
‘हामीले अहिले सम्म २ लाख भन्दा बढि चन्दा उठाएर बचाएका छौँ ’ उनले भनिन्, ‘काठमाडौँको गङ्गालाल लैजान भन्नु भएको छ त्यहाँ सम्म लैजाने र उपचार गर्न पैसा नभएर अहिले घरमै हुनुहुन्छ। ’
कमलालाई मासिक चार हजार भन्दा बढिको औषधी खुवाउनु पर्ने त्यहि रकम जोहो गर्न पनि समस्या भइरहेका बेला भल्भ फेर्ने रकम नभएको उनले बताइन् ।
कमलाका श्रीमान् करिब ४ बर्सदेखि सम्पर्कविहीन छन् । कमलासँग १४ बर्षिया छोरीसँगै छिन् । आर्थिक सङ्कटले अहिले कमलाको उपचार रोकिएको छ भने, छोरीको अध्ययनमा प्रभाव परेको छ ।