स्टार सिटी ब्वाईज युनियनले कैलालीमा जारी गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
बिहीबार फाइनल खेलमा फार वेस्ट पशुपती युथ क्लबलाई ५–० गोल अन्तरले हराउँदै स्टार सिटी प्रतियोगिताको च्याम्पियन बनेको हो । गत संस्करणको उपविजेतता स्टार सिटीले यस पटक उपाधि जित्न सफल भएको हो ।
उपाधि सहित स्टार सिटीले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको फार वेस्टले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
फाइनल खेलमा कमल देउवा नायक बनेपछि स्टार सिटीले सहजै उपाधि जितेको हो । उनले फाइनल खेलमा चार गोल गरे ।
खेलको आठौं मिनेटमा पहिलो गोल गरेका उनले २० औं मिनेटमा दोस्रो र पहिलो हाफको इन्जुरी समयमा ह्याट्रिक पुरा गरेका थिए । कमलले ६२ औं मिनेटमा ब्यक्तिगत चौथों गोल पुरा गरेका थिए । खेलको ७९ औं मिनेटमा भुपेन्द्र शाहीले गोल गर्दै स्टार सिटीलाई सहज जित दिलाए ।
फाइनल खेलमा चार गोल गरेका कमल प्लेयर अफ द म्याच घोषित भए ।
विधागततर्फ फार वेस्टका अमानत शेख उत्कृष्ट गोलकिपर, स्टार सिटीका नरेन्द्र चौधरी उत्कृष्ट डिफेन्डर, स्टार सिटीका कमल देउवा उत्कृष्ट फरवार्ड, स्टार सिटीका अभिनाष थापा उत्कृष्ट मिडफिल्डर घोषित भए ।
गौरीगंगा ११ का निराजन धामी उदयीमान खेलाडी घोषित भए । विधागततर्फका उत्कृष्टले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । स्टार सिटीका कुबेर सिंह प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले ५० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको चौथों संस्करण सफलतापूर्वक सम्पन्न गरेको आयोजक गौरीगंगा ११ क्लबका अध्यक्ष दिनेश कलेलले बताएका छन् ।