डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकिय अधिकृतमाथि कुटपिट भएको छ ।
अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिकाका बहुमत सदस्यहरुले कुटपिट गरेको बताइएको छ ।
अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ ।
आज (बिहीबार) बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक डाँकिएको थियो । तर, कार्यपालिका सदस्यहरुले बैठकमा बिरोध गर्दै कुर्सी हानाहान गरेको बताइएको छ ।
नगरपालिकाका योजना अधिकृत रहेका जोशीलाई मंसिर पहिलो साता प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक र प्रशासनिक अधिकारसहित उनलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । अहिले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
किन भयो विवाद ?
नेकपा माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाहरूले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका थिए ।
आजको बैठकमा पनि उनीहरुले सोही माग गर्न थालेपछि प्रमुख प्रकासकिय अधिकृत कृष्णदेव जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए ।
सोही विषयमा आक्रोशित भएका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए ।