नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका मुल नेता रेशम चौधरीसँग कुनै बिबाद नरहेको दाबी गरेकी छन् । तर, फरक विचार भएकै कारण आफूहरुको परिवार नफुट्ने पनि उनको प्रष्टीकरण छ ।
नाउपाका संस्थापक रेशम चौधरीले बुधबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै रञ्जितालाई बुझाउन नसकेको बताएका थिए । दिउँसो संसद भवन नयाँ वानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै रञ्जिताले बिहान रेशमले स्ट्याटस लेख्दा आफूँसँगै रहेको बताइन् ।
‘हिजो हाम्रोबीचमा छलफल भएको थियो । म र रेशमजीले पार्टीगत रुपमा बसेर छलफल गरेका थियौं । त्यही अनुसार उहाँले लेख्नुभएको हो’ रञ्जिताले भनिन् । आफूहरुका बीचमा फरक विचार भएकै कारणले परिवार नफुट्ने पनि उनले बताइन् ।
‘पार्टीगत रुपमा उहाँ र मेरो मत फरक फरक भएको हो । तर, परिवार छुट्टै कुरा हो । पार्टी छुट्टै कुरा हो । फरक विचारले परिवार फुट्दैन’ रञ्जिताले दोहोर्याइन्, ‘उहाँ (रेशम चौधरी)ले स्ट्याटस लेख्दा म सँगै छु ।’
आफूहरुको पारिवारिक सम्बन्धमा कुनै समस्या नरहेको पनि उनले बताइन् । आफूहरु २५ वर्षदेखि सँगै रहेको भन्दै उनले थपिन्, ‘परिवारका हाम्रो त्यस्तो केही पनि छैन ।’पार्टीमा फरक–फरक विचार बोकेकाहरु जोडिने भएकाले त्यसको समुचित रुपमा निरुपण हुने र हुँदै जाने पनि रञ्जिताको भनाइ छ ।निर्वाचन आयोगले पार्टी अध्यक्षमा अस्वीकृत गरिदिएको विषयलाई रेशमले समेत स्वीकार गरिसकेको रञ्जिताले बताइन् ।
‘महाधिवेशन गरेर रेशमजीलाई सर्वसम्मत रुपले अध्यक्ष स्वीकारेको हो । तर, निर्वाचन आयोगले दिएको निर्णय रेशमजीले पनि मानिसक्नुभको छ । किनभने नीति, कानुन भन्दा माथि कोही पनि हुँदैन ।’ नाउपा श्रीमानको पार्टी हो कि श्रीमतीको ? भन्ने प्रश्नमा रञ्जिताले भनिन्,'नाउपा जनताको पार्टी हो ।'