अत्तरिया महोत्सबमा प्रयोग भएका नक्कली टिकट ठेली प्रकरणमा फरार रहेका दुई जनालाई पक्राउ गर्न माग गरिएको छ ।
स्थानिय ब्यबसायीहरुको संघर्ष समितिले फरार रहेका अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा र निवर्तमान अध्यक्ष अशोक राज देवकोटालाई छिटो पक्राउ गर्न माग गरेको हो ।
संघर्ष समितिले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।
मिति : २०८०/११/२९ गते
अत्तरिया उद्योग वाणिज्य संघ अत्तरिया कैलालीको कार्यसमितिले विधिवत निर्णय गरी मिति २०८०/०९/२६ गते देखि २०८०/१०/०७ गते सम्म आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०८० को सञ्चालनका क्रममा फेला परेका नक्कली टिकेट ठेलीले यस क्षेत्रका उद्योगी व्यापारी वर्ग र आम जनतामा ठूलो आघात पुगेको छ ।
आर्थिक अनियमितता र भ्रष्टाचार गर्ने उदेश्यले गरिएका यस्ता क्रियाकलापले संघको गरिमामा आँच पुगेको महशुस गर्दै सो निकृष्ट कार्यमा संलग्नलाई कारबाहीको माग सहित गोदावरीका आम उद्योगी व्यापारीहरुको तर्फबाट संघर्ष समिति बनाएको र नक्कली टिकट प्रकरणका दोषीलाई कारवाहीका लागि समितिले समेत विभिन्न दबाबमुलकगतिविधि गर्दै आएको विषय अवगत नै छ ।
पछिल्लो समय अनुसन्धान प्रकृया अगाडि बढी सकेपछि हामी निरन्तर रुपमा अनुसन्धानलाई निस्पक्ष र प्रभावकारी रूपमा अघाडी बढाउन र अनुसन्धान कार्यान्वयनका लागि आन्तरिक पहल गरिरहेका छौ।
पछिल्लो समय अनुसन्धान प्रकृयामा ढिलाइ भएको, ल्याव टेस्ट रिपोर्टमा ढिलाई भएको, समितिका अध्यक्ष र केही जिम्मेवार व्यक्ति, जनप्रतिनिधि र अग्रज नेता नै दोषीलाई उन्मुक्तिका लागि गरिरहेका दौडधुपले कतै सेफ लेण्डिङ त हुने होइन भन्ने आशंका बढ्दै गएको आम उद्योगी व्यापारीको गुनासोलाई समितिले स्वाभाविक रूपमा लिएको छ। संघर्ष समितिको जन्म नक्कली टिकट प्रकरणमा जोडिएका दोषीलाई कारबाही गर्नु, संस्थामा हुने गरेका यस्ता किसिमका अराजक, भ्रष्टगतिविधिको भण्डाफोड गर्नु र संघका विगतका गतिविधि समेत सतहमा ल्याउनु हो ।
अतः प्रकरणमा जोडिएका दोषीलाई कारवाही भयरै छोड्ने मा हामी विश्वस्त छौं जसका लागि समिति अनवरत रूपमा लागिरहेको र लागिरहने कुरा आम उद्योगी व्यवसायी वर्गमा अवगत गराउन चाहन्छौ।
यो बीचमा हाम्रो मुद्दालाई सम्बोधन गर्दै विभिन्न तह, नागरिक समाज, राजनीतिक दलले समेत शसक्त रुपमा उठाउनु भएकोमा समिति आभार प्रकट गर्न चाहन्छ । समितिका वर्तमान अध्यक्ष कल्याण सिंह बोहरा र पूर्व अध्यक्ष अशोक देवकोटाका नाममा प्रकाउ पूर्जी जारी भएको लामो समय बितिसक्दा समेत दुबै जना हाजिर नहुँदा अनुसन्धान अगाडि बढ्न नसकेको अनुसन्धान संलग्न अधिकारीको भनाइ छ ।
अध्यक्षले सामाजिक सञ्जाल फेसबुकमा निर्वाध रूपमा गतिविधि बढाउदै लैजानु, पक्राउ पुर्जी जारी भएको लामो समयसम्म आफै जाहेरी दिने व्यक्ति नै फरार रहेको विषयले आम व्यापारी वर्ग आश्चर्यमा छन्। हामी दुवै अध्यक्षलाई नैतिकताका आधारमा प्रहरी समक्ष तत्काल उपस्थीत हुन र अनुसन्धान प्रक्रियालाई सहयोग गर्न अपिल समेत गर्दछौं ।
हामीले कानुनी प्रकृया र अनुसन्धानलाई विश्वास र भरोसा गरेका छौं तर अनुसन्धान गरिरहेको जिल्ला प्रशासन, प्रहरी प्रशासनले प्रभावकारी रुपमा अनुसन्धान अगाडि बढाउन ढिलाई गरेको अनुभूतिले प्रशासन प्रति पनि प्रश्न चिन्ह खडा गर्न सकिने अवस्था सिर्जना भएको छ साथै यो विषयमा अस्वाभाविक घटनाक्रम अगाडि बढे, घटनाको अनुसन्धान लम्ब्याउने र प्रभावकारी रूपमा अगाडि बढाउन आनाकानी गरे, संघर्ष समितिले आफूलाई थप शसक्त रुपमा प्रस्तुत गर्ने विषय सम्पूर्णमा अवगत गराउन चाहन्छौ ।
पुष्प राज सुवेदी
प्रवक्ता
अत्तरिया उद्योग वाणिज्य संघ अत्तरिया, कैलालीको नक्कली
टिकट प्रकण सत्य तथ्य छानविन दवाव संघर्ष समिति
अत्तरिया, कैलाली