संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसदको पदावधि सकिएको छ ।
२०७४ सालमा निर्वाचित भएका अध्यक्षसहित २० जनाको ६ वर्षे कार्यकाल आइतबार राति १२ बजेदेखि सकिएको हो ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राईको पदावधि सकिएको हो ।
त्यस्तै काँग्रेसका चार सांसद रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा भए । माओवादी केन्द्रका तीन सदस्य विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा पनि बिदा भए।
त्यस्तै नेकपा एकीकृत समाजवादीका नन्दा चापाईं, सिंहबहादुर विश्वकर्मा, खिमलाल देवकोटा, जसपाबाट प्रमिलाकुमारी र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको कार्यकाल पनि सकिएको छ ।
रिक्त हुने २० मध्ये १९ जना माघ ११ मा सम्पन्न निर्वाचनबाट निर्वाचित भइसकेका छन् ।
उनीहरूले आजै शपथ लिनेछन् । एक सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।
५९ सदस्यीय राष्ट्रियसभाका लागि २०७४ सालमा नयाँ संविधान जारी भएपछि ५६ सदस्य निर्वाचित भएका थिए भने तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका थिए ।
यसैबीच राष्ट्रियसभाको नयाँ अध्यक्षमा काँग्रेस र माओवादीले दाबी गरेका छन्।
काँग्रेसले कोशी प्रदेशबाट निर्वाचित कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने तयारी गरे पनि माओवादी केन्द्रले भने राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएको छ ।
अब राष्ट्रियसभामा माओवादी केन्द्र सबैभन्दा ठूलो दल बन्नेछ ।