राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदको पदावधि आजदेखि सकिँदैछ। गोलाप्रथाबाट ६ वर्ष कार्यकाल तय भएका २० जना सांसदको पदावधि आजबाट सकिन लागेको हो।
उनीहरूमध्ये १९ जना निर्वाचित हुन् भने विमला राई पौड्याल राष्ट्रपतिबाट मनोनीत भएकी थिइन्। पदावधि सकिन लागेका सांसदमा नेकपा (एमाले)बाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित नौ जना छन्।
त्यस्तै, राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पनि पदावधि सकिन लागेको छ। पदावधि सकिनेमा एमालेका ९ जना, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाको एक र स्वतन्त्र एक जना सांसद छन्।
रिक्त १९ स्थानमा पदपूर्तिका लागि गत माघ ११ गते राष्ट्रिय सभा निर्वाचन भएको थियो। नवनिर्वाचित सांसदहरुको सोमबार शपथ कार्यक्रम राखिएको छ। फागुन २१ गतेबाट नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुङ्गाना, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट गरी १० जना सांसद राष्ट्रिय सभामा जाँदैछन्।त्यसैगरी माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, झक्कु सुवेदी, विष्णुबहादुर विश्वकर्मा र रेणु चन्द, नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल, सावित्री मल्ल सांसद बन्दैछन्। नेकपा एमालेबाट रुक्मिनी कोइराला र जनता समाजवादी पार्टीबाट पूजा चौधरी राष्ट्रिय सभाको सपथ ग्रहण गर्दैछन्।
१८ जना वर्तमान सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका थिए भने एमाले उम्मेदवार गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै कोशीबाट निर्वाचित भएकी थिइन्। कोइरालाले माओवादी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन्। उनीहरुको सपथ सोमबार हुँदैछ।