काठमाडौं – सरकारले सुदूरपश्चिममा साना तथा घरेलु उद्योग स्थापनालाई प्रोत्साहन गरी उद्यमशीलता र रोजगारी सिर्जना गर्न ३ स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको छ । सात सय ५३ स्थानीय तहमा उद्योग स्थापना गर्ने सरकारको नीति अनुसार सरकारले सुदूरपश्चिमका ३ स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने घोषण गरेको हो ।
उद्योग मन्त्रालयका अनुसार ३ ओटा नगरपालिका कञ्चनपुरको पुनर्वास, बेलौरी र बैतडीको मेलौलीमा औद्योगिक ग्राम स्थापना गर्ने घोषण गरिएको छ ।
सरकारले अहिले सम्म देशैभरी औद्योगिक पूर्वाधार निर्माण गरी आवश्यक सहयोग गर्न प्रारम्भिक प्रक्रिया पूरा गरेका ३२ स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरिसकेको छ ।
‘स्थानीय र प्रदेश सरकारसँगको समन्वयमा ३२ स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरिएको छ,’ मन्त्रालयका सचिव यमकुमारी खतिवडाले भन्नुभयो, ‘थप ७० स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गर्ने योजना छ ।’
उहाँका अनुसार सातै प्रदेशका सबै स्थानीय तहमा औद्योगिक वातावरण तयार गर्न औद्योगिक ग्राम स्थापनाको प्रक्रिया अघि बढेको छ ।
स्थानीय तहले पूर्वसम्भाव्यता अध्ययन गरी औद्योगिक ग्राम स्थापना गर्ने इच्छा जाहेर गरेपछि प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले औद्योगिक ग्राम घोषणा गरेको हो ।
ग्राम घोषणा गरेपछि डिपिआरका आधार सडक, विद्युत्सहित पूर्वाधार निर्माणमा सघाउने उद्योग मन्त्रालयका सह–सचिव शोभाकान्त पौडेलले बताउनुभयो । ग्रामभित्र सञ्चालन हुने उद्योगलाई सरकारले कर्जासहित विभिन्न सेवा तथा सुविधा दिने छ ।
ग्राम स्थापना गर्न सम्भावित लगानी, बजार व्यवस्था, सिर्जना हुन सक्ने सम्भावित रोजगारीबारे प्रस्ट खुलाउनुपर्ने नीतिगत व्यवस्था छ । औद्योगिक ग्रामको घोषणा भएपछि सो क्षेत्रमा गर्नुपर्ने थप योजना, पूर्वाधार निर्माण, लगानी, प्राविधिक सहयोग, जनशक्ति विकास तथा औद्योगिक ग्राम सञ्चालन व्यवस्थामा सरकारी तथा निजी क्षेत्रका निकायबीच समन्वय गर्ने योजना छ । सरकारले औद्योगिक ग्राम घोषणा तथा सञ्चालन कार्यविधि जारी गरेपछि यो प्रक्रिया अघि बढेको थियो ।
ग्राम बनाउन स्थानीय तहबाट जग्गा उपलब्ध गराएका छन् । प्रदेश र संघीय सरकारले प्राविधिक सहयोग, जनशक्तिको क्षमता विकासका लागि तालिम, भौतिक पूर्वाधार निर्माणसहित आवश्यक आर्थिक सहयोग गर्नेछन् । औद्योगिक ग्रामको पूर्वाधार निर्माण गर्न हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा ३० रोपनी, पहाडी क्षेत्रमा ४० रोपनी, तराईमा सात बिघा क्षेत्रफलको जमिन हुनुपर्छ। ग्राम घना मानव बस्तीदेखि न्यूनतम एक किलोमिटरमा हुनुपर्ने व्यवस्था छ । जग्गा छनोट गर्दा बाटो, पानीलगायत सुविधालाई ध्यान दिइएको छ ।
पूर्वाधार निर्माणको मापदण्ड कार्यविधिमा तोकिएको छ । औद्योगिक ग्रामभित्रको जग्गामध्ये ६० देखि ७० प्रतिशत उद्योग स्थापनाका लागि प्लट राखिने छ भने अन्यमा प्रशासनिक तथा सेवा केन्द्र, हरियाली, सडक, खुला मैदान तथा पार्क, स्वास्थ्य केन्द्र, पार्किङस्थल हुनुपर्नेछ । ग्राममा भौतिक पूर्वाधारसहित विभिन्न सुविधा हुनुपर्छ । ग्रामभित्र उद्योग सञ्चालन गर्न बैंक तथा वित्तीय संस्था, दिवा शिशु स्याहार केन्द्र, अग्नि नियन्त्रणको व्यवस्था, सामान प्रदर्शनी तथा बिक्री कक्ष, स्नानगृह, क्यान्टिन लगायत सुविधा हुने छ ।
ग्रामसँग पहुँच मार्ग, सहायक मार्ग, पदैल मार्ग, ११ केभीको विद्युत् प्रसारण लाइन, विद्युत् सबस्टेसन तथा ट्रान्फर्मरको व्यवस्था, आन्तरिक विद्युत् वितरण लाइन, वैकल्पिक ऊर्जाको प्रयोग, गोदाम घर, पानी, भूमिगत र सतह ढल निकासको व्यवस्था, औद्योगिक फोहोर व्यवस्थापन, प्रदूषित पानी उपचार संयन्त्रको व्यवस्था गरिने मापदण्डमा तोकिएको छ ।