नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट विकास र समृद्धि सम्भव नभएको बताएका छन् । आइतबार कैलालीको घोडाघोडीको सुखडमा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै ओलीले अहिलेको सरकार जनताप्रती उत्तरदायी नभएको बताउँदै कुनै काम सम्भव नभएको दाबी गरेका हुन् ।
प्रचण्ड नेतृत्वको सरकारलाई निकम्माको संज्ञा दिएका ओलीले बलियाका पक्षमा मात्र काम गरिरहेको आरोप लगाएका हुन् । ‘अहिलेको यो निकम्मा सरकार हो । यसले केही पनि काम गर्न सक्दैन’ ओलीले भने, ‘यो गरिबलाई हेप्ने, न्याय नदिने बलियाका पक्षको सरकार हो । क्वीन्टलका क्वीन्टल सुन आएको देख्दा पनि यो सरकारले कारबाही गर्न सक्दैन सरकार निरीह छ ।’
ओलीले सुन तस्करमा संलग्नलाई कारवाही गर्न खोज्दा आफ्नै मान्छे भेटेपछि छाडिदिने गरेको आरोप समेत लगाए । प्रधानमन्त्रीले बिना काम एक वर्ष बिताएको बताएका ओलीले भाषण गरेर सच्चिदै छु भन्दै आएकाले कहिले सच्चिने हो भनेर प्रश्न समेत गरे ।
‘यो सरकारले एक वर्ष काम नगरी बितायो । प्रधानमन्त्रीले एउटा पनि राम्रो काम देखाउन सक्नुभएको छैन । उहाँ भाषणमा हामी काम गर्छौ, सच्चिन्छौँ भन्नुहुन्छ ’ ओलीले भने, ‘तर ७० वर्ष पुग्न लाग्नुभयो अहिले सम्म नसच्चिएको मान्छे कहिले सच्चिने हो ? ’
सरकारकै कारण मुलुक अहिलेको अवस्थामा पुगेको टिप्पणी ओलीको थियो । राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रता कमजोर भएपनि संरक्षण गर्न वेवास्ता गरिएको बताउँदै उनले देशमा सुशासन नै नभएको उल्लेख गरे ।
आफ्नो कार्यकालमा गरेका कामहरू अहिलेको सरकारले निरन्तरता नदिएको, वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न नसकिएको उनले बताए ।