नेकपा एमाले कैलालीको ९ औँ जिल्ला अधिवेशन आज देखि शुरु हुँदैछ । घोडाघोडी नगरपालिकाको सुखडमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।
सोमबारसम्म चल्ने अधिवेशनले एमाले कैलालीको नयाँ नेतृत्व चयन गर्नेछ । एमाले नेताहरुले सहमतीमै पार्टी नेतृत्व चयन गरिने बताइरहेका छन् ।
सोही प्रयास अन्तरगत एमालेले कैलालीमा पहिलोपटक नयाँ अभ्यास गरेको छ ।
एमालेले अधिवेशन शुरु हुनु अगावै अध्यक्षसहितका पाँच पदाधिकारीमा आकांक्षीहरुलाई ३ फागुनमा इच्छापत्र पेश गर्न भनेको थियो ।
पार्टीका पोलिटब्युरो सदस्य एवंम् कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नालाई अध्यक्षसहित पाँच पदका लागि ५३ जनाले सोही दिन इच्छापत्र बुझाइसकेका छन् ।
अध्यक्षमा अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीसहितका ३ जनाले इच्छापत्र पेश गर्दा उपाध्यक्षमा ८ जना, सचिवमा १२ जना र उपसचिवतर्फ दुई पदका लागि ३० जनाले आकांक्षा प्रस्तुत गर्दै इच्छापत्र दर्ता गरेका छन् ।
एमाले कैलालीले पदाधिकारीमा आकांक्षीहरुबीच सहमती खोज्न र नभए चुनाव गरेरै भएपनि छिटोछरितो अधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि उद्घाटन पूर्व नै इच्छापत्र माग गरेको बताइरहेको छ ।
एमालेले ३ गते आकांक्षीबाट इच्छापत्र मागेर ४ र ५ गते उनीहरुबीच सहमती खोज्ने जनाएको छ तर अहिलेसम्म आकांक्षीकाबीचमा सहमती भइसकेको अवस्था छैन ।
अध्यक्षका लागि इच्छापत्र दर्ता गरेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाबीच सहमती हुन सकेको छैन भने अन्य पदाधिकारीमा पनि उस्तै छ ।