नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै देउवाले लामो भाषण गर्नेहरूप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरू खाली भएपनि नेताहरू भाषण गरिरहेको देखिएको बताए ।
उनले उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने आशय व्यक्त गरे । उनले नेताहरू आफ्ना कुरा राखेर हिँडिसकेपछि व्यंग्य गर्दै सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने बताए ।
देउवाले भने, "मान्छे बाँकी कोही छैन, के बोल्नु । के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खाली भइसकेको हुन्छ, सबैकुरा स्पष्ट सुनाउनु पनि छ । कुरा सुनाउन पनि कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । एकजना बसेको हुन्छ । अनि धन्यवाद है तपाईं त लास्टसम्म बस्नुभयो भन्छन् । तपाईंको भाषण सुन्न होइन माइकका लागि लिन आएको हो । माइक मैले दिएको हो भन्ने बेला छ ।"
काठमाडौं सभापति बानियाँलाई टिकट नदिएको विषयमा चित्त दुखाएकोबारे पनि देउवाले कुरा राखे।‘यहाँ एउटा कुरा सबैलाई चित्त दुखेछ, बानियाँलाई टिकट दिएन भनेर क्या!,’ देउवाले हाँस्दै भने, ‘कुरा सुन्नुस् है, अब टिकट पायो भने जिताउनुहोला है।’
देउवाले यसो भन्दा कार्यकर्ताले हुटिङ गरेका थिए।‘उहाँ (बानियाँ) ले टिकट पाउँदा हराउनुभयो भने नि! कि जिताउन सकिँदैन भनेर तपाईंहरूले राष्ट्रिय सभा भन्नु भएको जस्तो छ है, विचार गर्नुस्,’ देउवाले हुटिङ गर्ने कार्यकर्ताहरूलाई प्रश्न गरे, ‘उहाँलाई जिताएर छाड्नुस् तपाईंहरूलाई म धन्यवाद दिनेछु।’
सभापति देउवाले काठमाडौं संघीय राजधानी भएकोले पनि यहाँ राम्रो निर्णय गर्दै पार्टीले काम गर्नुपर्ने बताएका थिए।