नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा राजतन्त्र फर्किने सम्भावना नदेखेपछि पूर्व राजा ज्ञानेन्द्र शाह अहिले देश दौडाहाको नाममा पार्टी खोल्ने आधार तयार गर्न लागेको बताएका छन्।
महोत्तरीको जिल्ला अधिवेशन उद्घाटन गर्न आएका ओलीले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अहिले राजनीतिक परिवर्तनलाई उल्टाउने षड्यन्त्र भइरहे पनि कुनै हालतमा सफल नहुने बताए।
ओलीले अहिलेको सरकारकै कारण हरेक निकायहरू असफल भइरहेको बताए। रेडक्रस जस्ता समाजिक संस्थाको समेत मान्यता समाप्त हुनुको कारक तत्व नै वर्तमान गठबन्धनको सरकार रहेको बताउँदै उनले यो निकै लज्जास्पद विषय भएको बताए।
प्रदेश सरकारको काम कारबाहीकै कारण अहिले संघीयता धरापमा परिरहेको उनले दाबी गरे। संघीयताको मर्म अनुसार प्रदेश सरकारहरूले काम नगर्दा संघीयता समस्यामा परेको उनले बताए।
ओलीले अहिले संघीयतमाथि प्रश्न उठाउने वेला नभएको र संघीयतालाई सफल बनाउने वेला रहेको बताए। प्रदेश सरकारले पाए जति अधिकार ठीक ढंगले प्रयोग नगरेकाले पनि संघीयतामाथि प्रश्न उठिरहेको उनको भनाइ थियो। यसको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्ने उनले बताए।
“निजामती ऐन र प्रहरी समायोजनको कारणले संघीयता सबल गर्नमा कहाँ बाधा पुगेको छ? आफ्नो मान्छे पुलिसमा भर्ना गर्न नपाउँदा यस्तो अधिकार नपाएको भनेर भ्रम सिर्जना गरिंदै छ। प्रहरी समायोजन हुनुपर्छ तर यही कारणले संघीयताको सेवा प्रवाह गर्न पाइनँ भन्नु गलत हो,” उनले भने।
ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पनि सबैको सहमतिबाट पारित गर्नुपर्ने बताए। उनले भने, “शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने सन्दर्भमा अहिले विधेयकमा छलफल भइरहेको छ। अलिक त्यसलाई राम्रोसँग मिलाएर छिट्टै टुंग्याउनुपर्छ, टीआरसीको बारेमा एमालेको अडान यथावत छ। राम्रो बनाएर सहमतिले पास गरे हुन्छ।”