नेपाल टेलिकमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले लगाएको ८ करोड रुपैयाँ बराबरको तामाजन्य कवाडीको ठेक्कामा लफडा भएको छ । प्रादेशिक कार्यालयले मिलेमतो (सेटिङ) मा ठेक्का दिएर सम्झौता विपरीत कवाड पैठारी गरिरहेको भन्दै विवाद भएको छ ।
नेपाल टेलिकमसँग सम्झौता गरेर प्रदेशका ९ वटै जिल्लाबाट तामाजन्य कवाड उठाइरहेका काठमाडौँको बीएनएस कन्सट्रक्सनले मिलेमतोमा सम्झौता विपरीत कवाडको तौल नगरेर पैठारी गर्ने गरेको भन्दै केही दिनदेखि विवाद चलिरहेको छ ।
विवादीत बनेको बीएनएस कन्सट्रक्सनले कवाड बोकेर लगिरहेको अवस्थामा कैलालीको गेटा र फुलबारीमा स्थानीय युबाहरुले ट्रक रोकिदिएका छन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त प्रमुख प्रहरी निरीक्षक रबिन्द्र कठायतले नेपाल टेलिकमबाट तौल नगरेर बढि तामाजन्य सामान लगेको भन्दै गेटामा स्थानीय केही युबाहरुले बीएनएस कन्सट्रक्सनको ट्रक रोकेपछि विवाद भएको बताए । उनले अहिले गेटाबाट नियन्त्रण लिएको ट्रक काँटामा लगेर पुन: तौल गर्ने कार्य भैरहेको बताए ।
यता, नेपाल टेलिकम प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख किशोर कुंवर ले तामाजन्य कवाडको ठेक्का पाएको बीएनएस कन्सट्रक्सनले तौल गरेरै कवाड उठाएको दाबी गरे ।
उनले तौल नगरेको शंका लागेमा प्रहरीको रहोबरमा पुनः तौल गरिने बताए ।
कुँवर का अनुसार केही महिनाअघि प्रदेशका ९ वटै कार्यालयबाट तामाजन्य कवाड बिक्रिका लागि बीएनएस कन्सट्रक्सनसँग ८ करोड बढिमा ठेक्का सम्झौता गरिएको बताए तर ९ वटै जिल्लामा १० करोड भन्दा बढिको तामाजन्य कवाड रहेको बताउँदै सम्झौतामै बढि सामान भए अनिवार्य सो बराबरको रकम बुझाउनुपर्ने उल्लेख गरिएको जानकारी दिए ।
उनका अनुसार बढि सामान भए सोअनुसारको रकम नबुझाएमा धरौटी जफत गर्ने र कम भए धरौटी राखिएको रकम फिर्ता गर्नेगरी सम्झौता गरिएको कुँवर को भनाई छ ।