भैरहवा - पूर्वराजा ज्ञानेन्द्र शाहले जहाँ गएपनि 'राजा आऊ र देश बचाऊ' भन्ने जनआवाज सुन्ने गरेको बताएका छन्।
बिहीबार भैरहवामा समर्थकहरूले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराजा शाहले आफू जता गएपनि आउन र देश बचाउन आग्रह गरेको सुनेको बताएका हुन्।
'म जता जाउँ जहाँ पुगौं-जनआवाज उठेको सुन्छु । मलाई आउ हाम्रो देश बनाउन र देश बचाउ। हाम्रो देशको सभ्यता र समृद्धि बढाउ। यहाँ खडा भएर म भन्दछु,'म बोलिरहेको छु, देश बनोस्,देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना इच्छा आकांक्ष पोखिरहेको छु। '
पूर्वराजा शाहले पछिल्लो समय देशको अवस्थालाई नजिकबाट नियालीरहेको बताएका छन्। उनले भने,'म कतै अन्त गएको छैन। सदासदा नेपालीको साथमा छु। नेपालभित्रै छु। नेपालीहरूको सुख,दु:ख,सुविधा असुविधा,बाधा पीडा तथा हिजोआजका अवस्थालाई नजिकबाट नियालीरहेको छु।'
उनले युवा पलायनप्रति चिन्ता प्रकट गर्दै देशको माया नभएर अवस्था विग्रिएकाले युवा जमात बाहिरिन बाध्य भएको बताएका छन्।
बेरोजगारी,गरिबी,शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितले लाखौं युवाजनशक्ति विदेशीएको उनको भनाइ छ।
उनले अहिले देश जर्जर अवस्थामा पुगेको बताएका छन्।
देशमै उत्पादन,उद्यम, इलम, सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नुपर्नेमा उनको भनाइ छ।
पूर्वराजा शाहले विभिन्न विवादबाट उठेर नेपालको माटो र नेपाली बाटो समातेर अगाडि बढ्न आग्रह समेत गरेका छन्।