काठमाडौं - सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ। आज बिहान बालुवाटारमा बसेको सत्तारुढ चारदलको बैठक पार्टीभित्र आन्तरिक छलफल गरेर पुन बैठक बस्ने गरी स्थगित भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए।
उनले भने, ‘सरकारमा सहभागी चार राजनीतिक दलका नेताबीच छलफल भएको छ। मूलत: राष्ट्रिय सभा निर्वाचनको विषयलाई लिएर छलफल भएको छ र त्यो बारेमा थप छलफल गर्न बाँकी छ। साँझ र भोली बिहान पुन: छलफल गर्ने सहमति भएको छ। पार्टीले आन्तरिक रुपमा पनि छलफल गर्नुपरेको छ। पार्टी पार्टीबीचमा पनि छलफल गरिरहनु परेको छ।’
संसदीय दलका प्रमुख सचेतक लेखकले भने,‘राष्ट्रिय सभा निर्वाचनमा विषयलाई लिएर गठबन्धनका दलहरुबीच छलफल भइरहेको छ, भने एमालेसँग राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल चलिरहेको छ।’ उनले लोकतन्त्रमा राजनीतिक दलहरुबीच संवाद हुनु र सहमति हुनु राम्रो कुरा भएको उनको भनाई छ। बैठकमा नेकपा एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा एकीकृत समाजवादीले विरोध जनाएको छ।
राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचनमा विपक्षी एमालेलाई पनि समेटेर लैजान सत्तागठबन्धनका नेताहरू लचिलो बनेका छन्। राष्ट्रियसभाका १९ सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ। सत्तागठबन्धन मिलेर चुनाव लडे एमालेले पूरै सिट गुमाउने स्थिति छ।
नेपालको संविधानमा राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ।
पदावधि सकिनेमा एमालेका ९ जना छन्, जसमा एमाले सरकारले आफ्नो तर्फबाट मनोनित सिफारिस गरेको विमला राई पौड्याल पनि छिन्। त्यसैगरी कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाको एक र स्वतन्त्र एक जना सांसद छन्। पौड्यालबाहेक बाँकी १९ पदका लागि निर्वाचन हुँदैछ भने एक जनालाई सरकारले मनोनित सिफारिस गर्नेछन्।