अत्तरिया- कैलालीको गोदावरी नगरपालिका-४ को बिकट बस्ती बेलपानी, फुलबस्तिमा ११ केभी विद्युत लाइन विस्तार भएको छ । धनगढी वितरण केन्द्रका प्रमुख मिथलेश कुमार गुहिबर र गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्टले मंगलबार बिधुतको स्विच अन गरेर शुभारम्भ गरेका छन् ।
विद्युत पहुँचबाट टाढा रहेको वडाको पहाडी क्षेत्र विद्युत विस्तार हुन थालेपछि स्थानीय हर्षित भएका हुन । फुलबस्ति, पटयानी, दामोदरे, तल्लो गैरी, मल्लो गैरीमा बत्ती बल्न शुरु भएको छ ।
गोदावरी नगरपालिकाका मेयर भट्टले लामो समयदेखि अँध्यारोमा रहेको बस्तीमा आफ्नो डेढ वर्षको कार्यकालमा बिधुत विस्तार गर्न सफल भएको बताए ।
‘यो ठाउँ अध्यारोबाट उज्यालोमा आएको छ ।हामी जनप्रतिनिधि भएर आएको डेढ वर्ष मात्रै भएको छ । छोटो समयमै बिधुत ल्याउन सफल भएका छौ’ मेयर भट्टले भने ‘हामीले जनताको पक्षमा काम गरेर सफल भएका छौ । विकासका कुरा विस्तारै हुने गर्दछ । हामीले संघ, प्रदेश सरकार संग समन्वय गरेर काम गरिरहेका छौ ।'
उनले फुलबस्ति, पटयानी, तल्लो गैरी, मल्लो गैरीका २ सय परिवारको घरमा विद्युत पुगेकाले अब छिटै बेलपानीका परिवार बसोबास गर्ने फूलबस्तीमा विद्युत विस्तार गरिने बताए । उनले नगरका सबै ठाउँमा विद्युत विस्तार गर्नको लागि अझै १५-२० विद्युत पोल आवश्यक पर्ने बताए ।
गोदावरी नगरपालिका सुगम पालिका भएर पनि यस क्षेत्रका जनताले सहज रुपमा विद्युत सेवा उपभोग गर्न पाएका थिएनन् । ११ केभी विद्युत लाइन बिस्तार भएपछि सहज हुने वडा अध्यक्ष हेम प्रकाश मल्लले बताए ।